भोजपुर: धान भित्राउने समय नजिकिँदै गर्दा भोजपुरका किसानहरू धानबालीमा देखिएको लाइ किराको प्रकोपबाट चिन्तित बनेका छन्। किराको आक्रमणका कारण धानको बोटको फेदमा क्षति पुग्दा बाली ढल्ने, बाला सुक्ने र परालसमेत नष्ट हुने समस्या देखिएको छ।
भोजपुर नगरपालिका-५ बोखिमका स्थानीय किसान धनबहादुर थापाले यस वर्ष धानबालीमा अनपेक्षित रूपमा किराको प्रकोप फैलिएको जानकारी दिए। उनले भने, ‘विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन। किराले धानको फेदमै क्षति पुर्याएपछि बोट ढल्न थालेका छन्। यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पुर्याएको छ।’
सोही स्थानकी अर्की किसान गीता विष्टले किराले धानको फेदबाट रस चुस्ने गरेको बताइन्। यसका कारण बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ। उनले भनिन्, ‘वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ।’
धान पाक्ने समयमा नै बालीमा क्षति पुगेपछि किसानहरूको मेहनत र लगानी खेर जाने चिन्ता बढेको छ। धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने र उत्पादनमा समेत ह्रास आउने भन्दै किसानहरू चिन्तित छन्।
