काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकबाट उक्त रकम सङ्कलन भएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका एक हजार ८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० अमेरिकी डलरका दरले शुल्क सङ्कलन भएको थियो। त्यस्तै, एक दिनको भ्रमण अनुमति लिएका दुई हजार ५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलरका दरले शुल्क उठाइएको थियो।
मनाङको नार फू क्षेत्रमा सात दिनको भ्रमण अनुमति लिएर प्रवेश गरेका एक हजार ३३८ पर्यटकबाट प्रतिव्यक्ति १०० अमेरिकी डलरका दरले राजस्व सङ्कलन भएको आयोजनाले जनाएको छ।
निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ। उक्त शुल्क सङ्घीय सरकारको राजस्वमा जम्मा हुने आयोजना प्रमुख कडरियाले बताए।
निषेधित क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकबाट आर्थिक वर्ष २०८१/८२ मा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २३ करोड ८९ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यसरी पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले निषेधित क्षेत्रको भ्रमण शुल्कबाट सरकारलाई उल्लेख्य आम्दानी हुँदै आएको देखाउँछ।
तिब्बतसँग सीमा जोडिएका केही क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा विदेशी पर्यटकले आवश्यक अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ। यी क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि पुग्ने गरेका छन्।
निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकबाट पनि सरकारले ठूलो रकम राजस्व सङ्कलन गर्दै आएको छ। आयोजना प्रमुख कडरियाका अनुसार गत आर्थिक वर्षमा यस क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ सङ्कलन भएको थियो।
आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक पुगेपछि प्रवेश शुल्कबाट हुने आम्दानीसमेत बढेको हो।
गत आर्थिक वर्षमा दक्षिण एसियाली मुलुकबाट तीन लाख ८४ हजार १४५ र अन्य मुलुकबाट एक लाख २४ हजार ३३१ गरी कुल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए। तीमध्ये भारतीय पर्यटकको सङ्ख्या तीन लाख ७५ हजार ७९७ थियो।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा पर्यटक प्रवेश शुल्कबाट ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ सङ्कलन भएको थियो।
पर्यटक प्रवेश शुल्क तथा अन्य स्रोतबाट प्राप्त आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने आयोजना कार्यालयले जनाएको छ। पर्यटकको बढ्दो आगमनले राजस्व वृद्धि गरे पनि प्राकृतिक सम्पदाको संरक्षण, पदमार्ग व्यवस्थापन र पर्यटन पूर्वाधारको दिगो विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता छ।
