काठमाडौं । बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ स्थित नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतीस्थित फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीको विवरणमा उल्लेख छ।
नयाँपुलस्थित गोरखा–आरुघाटबाट धादिङ जोड्ने सडकखण्डमा भने साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्। बाढीका कारण ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ।
यस्तै, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७, औंलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग प्रभावित भएको छ। पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा अहिले एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
