काठमाडौं: दसैँ र तिहारको आगमनसँगै भक्तपुरका सडक तथा खाली ठाउँमा धान सुकाउने दृश्य देखिन थालेको छ। धान काटेर भित्र्याउने समय सुरु भएसँगै किसानहरूलाई धान सुकाउने र भण्डारण गर्ने चटारो छ। भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित भएकाले सडक नै धान सुकाउने मुख्य स्थान बनेको छ।
स्थानीय मनिषा मचामसीका अनुसार पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले कौसीमा धान सुकाउन सम्भव थिएन। त्यसैले किसानहरूले सडक र घर अगाडिको खुला ठाउँ प्रयोग गर्दै आएका छन्। अहिले ढलान गरिएका घरहरू बनेपछि केहीले कौसीमा धान सुकाउन थाले पनि परम्परागत शैली अझै कायमै छ।
स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले धान सुकाउन ठाउँ पाउन पालो कुर्नुपर्ने अवस्था थियो। धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने बाध्यता थियो। अहिले सडक आसपासमा सिसी क्यामेरा जडान गरिएकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ।
धान सुकाउने तरिकामा पनि समयसँगै परिवर्तन आएको छ। पहिले सडकमा रातोमाटोले लिपेर धान सुकाउने चलन थियो भने अहिले बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर धान सुकाउने गरिएको छ। सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ।
