काठमाडौं: यस वर्षको दसैँ बिदामा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिएको छ। पोखरा, चितवन, मुस्ताङ, मनाङ, रारा, लुम्बिनी र बन्दीपुर जस्ता क्षेत्रमा स्वदेशी पर्यटकको चहलपहल रहे पनि विदेशी पर्यटकको आगमन भने अपेक्षाअनुरूप हुन सकेन। व्यवसायीहरूका अनुसार पोखरा, चितवन, धुलिखेल र नगरकोटका होटल तथा रिसोर्टहरूमा ८० देखि १०० प्रतिशतसम्म अकुपेन्सी रेट देखिएको थियो।
सेप्टेम्बरको अन्त्यतिर आएको अविरल वर्षा, बाढी र पहिरोका कारण विदेशी पर्यटकको बुकिङमा असर परेको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्ण आचार्यले बाढीपहिरोका कारण मनास्लु पदमार्गमा क्षति पुग्दा पर्यटकहरू अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल र पुनहिल जस्ता क्षेत्रमा डाइभर्ट हुन बाध्य भएको बताए। उनले बाढीपहिरोको समाचार अन्तर्राष्ट्रिय स्तरमा अतिरञ्जित हुँदा नेपाल सुरक्षित छैन भन्ने गलत सन्देश गएको गुनासो गरे।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पूर्वाधार बढे पनि विदेशी पर्यटक भित्र्याउन नसकिएको बताए। उनले सरकारले घोषणा गरेको ‘वेलनेस टुरिजम इयर २०२७’ को कार्यान्वयन फितलो रहेको र नेपाल पर्यटन बोर्ड (एनटीबी) लामो समयदेखि नेतृत्वविहीन हुँदा अन्तर्राष्ट्रिय प्रवद्र्धन प्रभावित भएको उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीका अनुसार यस वर्षको मुख्य सिजनमा १८ देखि २० प्रतिशतले पर्यटक बढ्ने अपेक्षा गरिए पनि प्राकृतिक विपत्ति, मध्यपूर्वको तनाव र संकटकालीन सञ्चारको अभावले लक्ष्य पूरा हुन सकेन। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले युरोपेली पर्यटकले बुकिङ रद्द गरेको स्वीकार गर्दै भारतीय पर्यटकको आगमन भने सामान्य रहेको जानकारी दिए। उनले बजेट ढिलाइ प्राविधिक कारणले भएको र आगामी दिनमा प्रवद्र्धनात्मक कार्यक्रमलाई तीव्रता दिइने दाबी गरे।
