दाङ: दाङमा पछिल्लो समय व्यावसायिक फुलखेती गर्ने किसानको संख्या बढ्दै गएको छ। अन्य बालीको तुलनामा कम लगानी र बढी आम्दानी हुने भएपछि किसानहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन्। अहिले जिल्लाका १० वटै स्थानीय तहमा किसानहरूले व्यावसायिक रूपमा फुलखेती गरिरहेका छन्।
गढवा गाउँपालिका-३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फुलको खेती गर्दै आएका छन्। वनस्पति विज्ञानमा अध्ययन गरेका रावतले १० कठ्ठा जग्गामा फुलखेती विस्तार गरेका छन्। उनले तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सयपत्री फुल लगाउने गरेका हुन्।
रावतका अनुसार यस वर्ष तिहार अगाडि नै उनले २० देखि २५ हजार रुपैयाँ बराबरको फुल र माला बिक्री गरिसकेका छन्। उनी वार्षिक दुई देखि तीन लाख रुपैयाँसम्म बचत गर्न सफल भएका छन्। उनले फुल प्रति केजी २५० देखि ३०० रुपैयाँ र माला प्रति गोटा ४०० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
धान र गहुँको तुलनामा फुलखेती सजिलो र बढी नाफामूलक रहेको उनको अनुभव छ। “पहिलो वर्ष परीक्षणका रूपमा खेती गरेँ। त्यसले राम्रो नतिजा दियो, त्यसपछि नियमित रूपमा खेती गर्दै आएको छु,” उनले भने। उनले फुलखेतीसँगै तरकारी खेती र बेर्ना उत्पादनको काम पनि गर्दै आएका छन्।
चाडपर्वका बेला भारतबाट आयात हुने फुललाई निरुत्साहित गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा रावतको जोड छ। उनले स्वदेशमै केही गर्नुपर्ने बताउँदै फुलखेतीमा आत्मनिर्भर हुन स्थानीय सरकारले किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।
