काठमाडौं: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ विन्दुमा कायम भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ विन्दुमा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अङ्कले घटेर १८२ दशमलव ११ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १६० दशमलव ६९ विन्दुमा झरेको छ। आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ।
बजारमा १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूहको सूचक घटेको छ। कारोबारमा आएकामध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै आठ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आजको कारोबारमा बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाएका छन्। यता युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर र नबिल बैंक डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन्।
