काठमाडौं: फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गर्ने भएको छ। तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको यो प्रदर्शनी कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।
गोदावरी फूलको व्यावसायिक उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा ८६ वटा स्टल रहनेछन्। मेलामा विभिन्न नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए। यस वर्षदेखि कट फ्लावरतर्फ उत्कृष्ट पुष्प सजावट विधासमेत थप गरिएको छ। उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।
मेलामा व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिनेछन्। आयोजकका अनुसार यस प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ भने यस व्यवसायमा करिब ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको एसोसिएसनले जनाएको छ।
