काठमाडौं: आर्थिक विधेयक २०८३ ले करको दायरा विस्तार र छुटको व्यवस्था गरेसँगै बागलुङमा राजस्व सङ्कलनमा सुधार देखिएको छ। आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।
कार्यालयका अनुसार यस अवधिमा २८ करोड ७८ लाख ८२ हजार रुपियाँको लक्ष्य राखिएकोमा २७ करोड ३४ लाख ७६ हजार रुपियाँ सङ्कलन भएको छ। गत आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले लक्ष्यको ७० प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो।
प्रमुख कर अधिकृत कपिल सिलवालका अनुसार आयकर र अन्तशुल्कमा कार्यालयले शतप्रतिशतभन्दा बढी प्रगति हासिल गरेको छ। आयकरतर्फ १३ करोड ७२ लाख २४ हजार रुपियाँको लक्ष्यमा १५ करोड ७४ लाख ६३ हजार रुपियाँ अर्थात् ११४.७५ प्रतिशत सङ्कलन भएको छ। त्यस्तै, अन्तशुल्कमा २ करोड १३ लाख ३५ हजारको लक्ष्यमा २ करोड ३९ लाख ८८ हजार रुपियाँ अर्थात् ११२.४४ प्रतिशत राजस्व उठेको छ।
यद्यपि, अन्य शीर्षकमा भने सङ्कलन निराशाजनक देखिएको छ। व्याजकरतर्फ ३ करोड ४९ लाख ९ हजारको लक्ष्यमा २ करोड ३७ लाख ७३ हजार रुपियाँ अर्थात् ६८ प्रतिशत मात्र प्रगति भएको छ। सिलवालका अनुसार बैंकिङ क्षेत्रमा व्याजदर घटेकाले व्याजकरमा असर परेको हो। मूल्य अभिवृद्धि करतर्फ ८ करोड ९६ लाख ४५ हजारको लक्ष्यमा ६ करोड ४६ लाख १० हजार अर्थात् ७२ प्रतिशत सङ्कलन भएको छ। बहाल करतर्फ ४२ लाख १५ हजारको लक्ष्यमा १४ लाख २९ हजार रुपियाँ अर्थात् ३३ प्रतिशत मात्र सङ्कलन भएको छ।
कार्यालयका अनुसार जिल्लाका ठूला सहकारीहरूले पोखरास्थित ठूला करदाता कार्यालयमा कर तिर्न थालेपछि स्थानीय स्तरको राजस्व लक्ष्य प्रभावित भएको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल लक्ष्यको ७०.४५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो।
