काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।
चलचित्रका निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारसम्ममा ‘कबड्डी ५’ ले देशभरबाट ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको हो । प्रदर्शनको सुरुवाती दिनदेखि नै चलचित्रले आक्रामक व्यापार गर्दै आएको छ । आइतबारसम्ममा ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको चलचित्रले त्यसपछि पनि व्यापारलाई तीव्रता दिएको हो ।
दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रप्रति हलमा दर्शकको आकर्षण बढ्दो छ । चलचित्रका अधिकांश शो हाउसफुल भइरहेका छन् । मंगलबार बिहानसम्म उपलब्ध शोमध्ये ६० भन्दा बढी शो हाउसफुल भएको जनाइएको छ ।
आज र भोलि देशभरका हल सञ्चालकले टिकटमा सहुलियत दिने भएकाले चलचित्रको व्यापार थप बढ्ने अपेक्षा गरिएको छ । दर्शकको बढ्दो चासो र हलमा देखिएको भीडले चलचित्रको आगामी व्यापारप्रति निर्माण पक्षलाई उत्साहित बनाएको छ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।
