भद्रपुर। झापाका सयपत्री फूलखेती गर्ने किसान यतिबेला फूल जोगाउने चिन्तामा छन्। तिहार आउन दुई हप्ता बाँकी रहँदै फूल फुल्न थालेपछि किसानहरू गुणस्तर जोगाउन फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न बाध्य भएका छन्।
बुद्धशान्ति-३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालका अनुसार फूल बिग्रिने डरले हरेक तीन-तीन दिनमा टिपेर बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा राख्ने गरिएको छ। उनले भने, “फूलका लागि अलग्गै कोल्डस्टोर हुन्छ, तर झापामा त्यो सुविधा छैन, जे जस्तो भए पनि यहाँ उपलब्ध स्टोरमै फूल सुरक्षित राख्न बाध्य छौँ।”
अर्जुनधारा-१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल कालो हुने र गुणस्तर घट्ने जोखिम रहेकाले समयमै टिपेर माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएको बताए। झापाको कनकाईमाई पूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा व्यावसायिक रूपमा फूल उत्पादन भइरहेको छ।
यसैबीच, किसानहरूले स्वदेशी उत्पादनले बजार नपाउने चिन्ता व्यक्त गरेका छन्। भारतबाट हुने फूलको आयातले स्थानीय बजार प्रभावित हुने भन्दै उनीहरूले चिन्ता जनाएका छन्। बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ। किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन्।
