काठमाडौं । मोटरसाइकल स्टन्ट, साहसिक खेल र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आगामी कात्तिक १४ गते पोखरामा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य गतिविधि दिउँसो साढे २ बजेपछि सञ्चालन हुनेछन् ।
यसअघि काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भइसकेको पल्सर आरपीएमले पोखरामा पनि युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै थलोमा जोड्ने लक्ष्य राखेको छ । बुटवलमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० दर्शक तथा युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । पोखरामा पनि उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको मुख्य आकर्षण पल्सर एन१६० मोटरसाइकलमार्फत गरिने स्टन्ट प्रदर्शन रहनेछ । त्यसैगरी बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सजस्ता साहसिक खेल प्रस्तुत गरिनेछन् ।
स्थानीय डिजेको संगीत र ग्राफिटी कलाकारका सिर्जनाले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन् । सहभागीले पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी अवलोकन गर्नुका साथै टेस्ट राइडको अनुभवसमेत लिन सक्नेछन् ।
कार्यक्रमस्थलमा पपअप स्टोर, खानपिन, कफी तथा अन्य मनोरञ्जनात्मक गतिविधिको व्यवस्था पनि गरिनेछ । आयोजकका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
पोखरा र आसपासका युवालाई लक्षित गरी आयोजना हुने कार्यक्रममा सहभागी भएर स्टन्ट, साहसिक खेल र स्ट्रीट कल्चरको अनुभव लिन आयोजकले आह्वान गरेको छ ।
