काठमाडौं: धनकुटाका किसानहरू पछिल्लो समय बाँझो र चट्टानी जग्गामा मौरीपालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। खेतीपातीका लागि अनुपयुक्त मानिएका जङ्गल र भिरालो जमिन अहिले मौरीका घार राख्ने थलो बनेका छन्। थोरै जनशक्ति र श्रममा सञ्चालन गर्न सकिने यो व्यवसायले ग्रामीण भेगका किसानका लागि आत्मनिर्भर बन्ने माध्यम बनेको छ।
धनकुटा नगरपालिका-१ का दुर्गा दर्लामीले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले उनको परिवारको मुख्य आयस्रोत बनेको छ। पाख्रिबास नगरपालिका-९ मजुवास्थित जङ्गलमा १०० वटा घार पाल्दै आएका दर्लामीले वार्षिक करिब ६ लाख रुपैयाँ कमाउने गरेका छन्। त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका शुक्र राईले २०० भन्दा बढी आधुनिक घारमार्फत मौरीपालन र घार निर्माणको व्यवसाय गरिरहेका छन्। उनले मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ। यसबाट वार्षिक करिब २९.६ मेट्रिक टन मह उत्पादन हुने गरेको छ। मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब ४ करोड रुपैयाँ आम्दानी गरिरहेको केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए। उनले यो व्यवसाय जिल्लाको कृषि अर्थतन्त्रको बलियो आधार बन्दै गएको उल्लेख गरे।
धनकुटाको मह स्थानीय बजारदेखि काठमाडौं उपत्यका र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ। महलक्ष्मी, पाख्रिबास र सहिदभूमि क्षेत्रमा बढी उत्पादन हुने गरेको छ। यद्यपि, तरकारी खेतीमा बढ्दो विषादीको प्रयोग मौरीका लागि चुनौती बनेको छ। रानामगरका अनुसार विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्यमा असर पुर्याउने भएकाले सुरक्षित प्रयोग र किसानबीच समन्वय आवश्यक छ। कृषि ज्ञान केन्द्रले युवा लक्षित मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
