काठमाडौं: आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार राष्ट्रिय स्तरमा ३.८९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण रहँदा कर्णालीको वृद्धिदर सोभन्दा कम देखिएको हो।
राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको योगदान ४.२० प्रतिशत मात्र छ, जुन सात प्रदेशमध्ये सबैभन्दा कम हो। प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ। यसमा सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत, कृषि क्षेत्रको ३१.५२ प्रतिशत र उद्योग क्षेत्रको १०.०७ प्रतिशत रहेको छ।
कृषि क्षेत्रको अवस्था मिश्रित देखिएको छ। समग्र बाली उत्पादन ०.६५ प्रतिशतले घटे पनि धान, मकै, गहुँ, कोदो, जौ र फापर जस्ता मुख्य खाद्य बालीको उत्पादन औसत ३.५५ प्रतिशतले बढेको छ। यद्यपि, तरकारी तथा बागवानी उत्पादनमा ३.७६ प्रतिशत र फलफूलमा ४.०५ प्रतिशतको गिरावट आएको छ। पशुजन्य उत्पादनतर्फ दूध, अण्डा र ऊनको उत्पादन बढे पनि मासु र माछाको उत्पादन घटेको छ। प्रदेशको खेतीयोग्य जमिनमध्ये ४१.९० प्रतिशतमा मात्र सिँचाइ सुविधा उपलब्ध छ।
औद्योगिक क्षेत्रको क्षमता उपयोग निकै कमजोर देखिएको छ। नमुना छनोटमा परेका उद्योगहरूको औसत क्षमता उपयोग ३०.८९ प्रतिशत मात्र छ। यद्यपि, औद्योगिक कर्जा प्रवाह भने २५.६३ प्रतिशतले बढेर ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ।
पर्यटन क्षेत्रमा भने ठूलो गिरावट आएको छ। समीक्षा वर्षमा कर्णाली भित्रिने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशतले घटेर २२ हजार १६३ मा सीमित भएको छ। गैरसरकारी संस्थाका गतिविधिमा कमी र हवाई इन्धनको मूल्यवृद्धिलाई पर्यटक घट्नुको मुख्य कारण मानिएको छ। भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा उच्च गिरावट देखिएको छ।
वित्तीय पहुँचको कुरा गर्दा, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४८१ पुगेका छन्। कुल निक्षेप २२.०३ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.७९ प्रतिशतले बढेर ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। भौतिक पूर्वाधारतर्फ कुल सडक लम्बाइ ४ हजार ३९२ किमि पुगे पनि कालोपत्रे सडकको हिस्सा मात्र ६.८१ प्रतिशत रहेको छ।
