Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

फाबियन पिन्केयर्स : विद्यार्थीको सोचबाट सफ्टवेयर साम्राज्यसम्म

बेल्जियमका फाबियन पिन्केयर्सले विद्यार्थी जीवनमा सुरु गरेको सानो सफ्टवेयर परियोजनालाई विश्वका करोडौँ प्रयोगकर्ताले अपनाएको अन्तर्राष्ट्रिय प्रविधि कम्पनीमा विस्तार गरेका छन्।

फाबियन पिन्केयर्स : विद्यार्थीको सोचबाट सफ्टवेयर साम्राज्यसम्म
A A+ A-

विद्यार्थी जीवनमा एउटा सानो सफ्टवेयर बनाउने सोचले सुरु भएको यात्रा आज विश्वव्यापी व्यावसायिक प्रविधि कम्पनीमा पुगेको छ।

कुनै ठूलो औद्योगिक लगानी, स्थापित व्यापारिक घराना वा विशाल पुँजीको भरमा नभई एउटा व्यावहारिक समस्याको समाधान खोज्ने प्रयासबाट जन्मिएको कम्पनीले अहिले विश्वका ठूला प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ।

यो कथा बेल्जियमका प्रविधि उद्यमी फाबियन पिन्केयर्स र उनले स्थापना गरेको ओडुको हो।

विश्वभरका व्यवसायलाई लेखा, बिक्री, खरिद, भण्डारण, मानव संसाधन, ग्राहक व्यवस्थापन, अनलाइन व्यापार र अन्य प्रशासनिक काम एउटै प्रणालीबाट सञ्चालन गर्न सहयोग गर्ने सफ्टवेयर निर्माण गरेर ओडुले आफ्नो छुट्टै बजार बनाएको छ।

सन् २००२ मा सुरु भएको यो व्यवसायले दुई दशकभन्दा बढी समयमा आफूलाई अन्तर्राष्ट्रिय प्रविधि उद्योगको प्रभावशाली कम्पनीका रूपमा स्थापित गरेको छ।

सन् २०२५ मा कम्पनीको आम्दानी ६२० मिलियन युरो पुगेको सार्वजनिक विवरण छ। कम्पनीको मूल्यांकन करिब १० अर्ब युरो पुगेको दाबीसमेत संस्थापकले गरेका छन्।

ओडुको सफलताको विशेषता यसको प्रविधि मात्रै होइन, व्यवसाय सञ्चालन गर्ने तरिका पनि हो।

ठूला कम्पनीले महँगो र जटिल सफ्टवेयर बिक्री गरिरहेका बेला पिन्केयर्सले साना तथा मझौला व्यवसायलाई केन्द्रमा राखेर सरल, एकीकृत र तुलनात्मक रूपमा पहुँचयोग्य प्रणाली निर्माण गर्ने रणनीति अपनाए।

यही रणनीतिले एउटा सानो सफ्टवेयर परियोजनालाई अन्तर्राष्ट्रिय व्यवसायमा विस्तार गर्‍यो।

विद्यार्थीको समस्याबाट जन्मिएको व्यवसाय

फाबियन पिन्केयर्सको प्रविधिप्रतिको रुचि व्यावसायिक जीवन सुरु हुनुअघि नै विकसित भएको थियो।

बेल्जियममा जन्मिएका उनले किशोर अवस्थादेखि नै कम्प्युटर प्रोग्रामिङमा रुचि राखेका थिए। १३ वर्षकै उमेरमा उनले व्यवसायका लागि आवश्यक सफ्टवेयर निर्माण गरेर बिक्री गरेको अनुभव हासिल गरिसकेका थिए।

सानै उमेरमा सफ्टवेयर बनाउने र त्यसलाई ग्राहकसम्म पुर्‍याउने अनुभवले उनलाई प्रविधि केवल रुचिको विषय नभई व्यावसायिक अवसर पनि हो भन्ने बुझायो।

उनले ग्राहकको आवश्यकता बुझ्ने, त्यसअनुसार सफ्टवेयर बनाउने र त्यसबाट आम्दानी गर्ने अभ्यास किशोर अवस्थामै सुरु गरेका थिए।

विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उनको ध्यान व्यवसाय व्यवस्थापनसम्बन्धी सफ्टवेयरमा केन्द्रित भयो।

विभिन्न व्यवसायले लेखा, सामानको मौज्दात, बिक्री र ग्राहकको विवरण व्यवस्थापन गर्न अलग-अलग प्रणाली प्रयोग गरिरहेको अवस्था थियो। साना व्यवसायका लागि उपलब्ध सफ्टवेयर महँगा, जटिल र प्रयोग गर्न कठिन थिए।

यही समस्या समाधान गर्ने उद्देश्यले उनले टिनिईआरपी नामको सफ्टवेयर विकास गर्न थाले। यो परियोजना क्रमशः व्यवसाय व्यवस्थापनका विभिन्न कामलाई एउटै प्रणालीमा समेट्ने योजनामा अघि बढ्यो।

उनको सोच सामान्य सफ्टवेयर निर्माणमा सीमित थिएन। व्यवसाय सञ्चालनका लागि आवश्यक अधिकांश काम एउटै प्रणालीबाट गर्न सकिने समाधान बनाउने उनको लक्ष्य थियो। यही सोचले पछि ओडुको व्यावसायिक आधार तयार गर्‍यो।

सुरुका दिन सहज थिएनन्। ग्राहक खोज्नुपर्ने, सफ्टवेयर विकास गर्नुपर्ने, कर्मचारीको खर्च धान्नुपर्ने र बजारमा विश्वास निर्माण गर्नुपर्ने चुनौती एकैपटक थिए।

कम्पनी विस्तारको प्रारम्भिक चरणमा आर्थिक दबाबसमेत परेको थियो।

पिन्केयर्सले आफ्नो अनुभव सुनाउँदै सुरुका वर्षमा कम्पनीको आर्थिक अवस्था निकै कठिन रहेको बताएका छन्। कर्मचारीको तलब महिनाको अन्त्यमा कसरी भुक्तानी गर्ने भन्ने चिन्ता लामो समयसम्म रहेको उनको भनाइ छ।

कम्पनीका लागि सात वर्षसम्म दिवालियापनको जोखिम नजिक रहेर काम गर्नुपरेको अनुभव उनले सार्वजनिक गरेका छन्।

तर बजारमा देखिएको सम्भावना र उत्पादनप्रतिको विश्वासले उनलाई व्यवसाय निरन्तर अघि बढाउन प्रेरित गर्‍यो।

टिनिईआरपीदेखि ओडुसम्मको यात्रा

सुरुमा टिनिईआरपी नामबाट अघि बढेको परियोजनाले विस्तार हुँदै जाँदा आफ्नो नाम परिवर्तन गर्‍यो।

सन् २०१० तिर यो ओपनईआरपीका रूपमा परिचित भयो। नाम परिवर्तनसँगै कम्पनीले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयासलाई थप तीव्र बनायो।

सुरुमा कम्पनीको व्यवसायमा सफ्टवेयरसँगै ग्राहकका लागि आवश्यक सेवा र परामर्श पनि महत्वपूर्ण थियो।

ग्राहकको मागअनुसार सफ्टवेयर परिमार्जन गर्ने, स्थापना गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने कामबाट कम्पनीले आम्दानी गर्थ्यो।

तर यस मोडलको एउटा सीमा थियो। ग्राहकअनुसार छुट्टाछुट्टै सेवा दिनुपर्ने भएकाले कम्पनीको समय र स्रोत उत्पादन विकासमा पर्याप्त रूपमा केन्द्रित गर्न कठिन भइरहेको थियो।

धेरै ग्राहकलाई सेवा दिनु र विश्वव्यापी स्तरमा एउटै उत्पादन विस्तार गर्नु फरक चुनौती थियो।

पिन्केयर्सले यही बिन्दुमा व्यवसायको दिशा परिवर्तन गर्ने निर्णय गरे। सेवा प्रदायक कम्पनीको रूपमा मात्र सीमित नरही सफ्टवेयर उत्पादन र त्यसको निरन्तर विकासमा केन्द्रित हुने रणनीति अपनाइयो।

ग्राहकसम्म पुग्न प्रत्यक्ष सेवा विस्तार गर्नुभन्दा साझेदारको सञ्जाल निर्माण गर्ने बाटो रोजियो।

सन् २०१४ मा कम्पनीले आफ्नो नाम ओडु राख्यो। यो परिवर्तन केवल ब्रान्डको नाम परिवर्तन थिएन। कम्पनीको व्यावसायिक दृष्टिकोण पनि फराकिलो बनाउने निर्णय थियो।

ईआरपी अर्थात् उद्यम स्रोत व्यवस्थापन प्रणालीमा सीमित नरही वेबसाइट निर्माण, अनलाइन व्यापार, बिक्री केन्द्र, ग्राहक व्यवस्थापन, लेखा, भण्डारण र अन्य व्यावसायिक कामलाई एउटै प्रणालीमा जोड्ने उद्देश्यले नयाँ ब्रान्ड अघि सारियो।

यसै वर्ष कम्पनीले १० मिलियन अमेरिकी डलरको लगानीसमेत प्राप्त गर्‍यो।

यसले अनुसन्धान, उत्पादन विकास, बिक्री र अन्तर्राष्ट्रिय बजार विस्तारमा थप स्रोत उपलब्ध गरायो। त्यसपछि ओडुको व्यावसायिक विस्तारले नयाँ गति लिन थाल्यो।

सफ्टवेयर बजारका स्थापित दिग्गजलाई चुनौती

विश्वव्यापी व्यावसायिक सफ्टवेयर बजारमा पहिले नै स्थापित कम्पनीहरूको बलियो उपस्थिति थियो। एसएपी, माइक्रोसफ्ट र ओराकलजस्ता कम्पनीले ठूला संस्थाका लागि महँगा तथा जटिल प्रणाली उपलब्ध गराइरहेका थिए।

यस्तो बजारमा नयाँ कम्पनीका लागि स्थान बनाउन सजिलो थिएन। तर पिन्केयर्सले ठूला कम्पनीसँग उस्तै तरिकाले प्रतिस्पर्धा गर्नेभन्दा बजारको उपेक्षित वर्गमा ध्यान केन्द्रित गरे।

त्यो वर्ग थियो साना तथा मझौला व्यवसाय।

साना व्यवसायलाई पनि लेखा, बिक्री, भण्डारण, कर्मचारी व्यवस्थापन र ग्राहक विवरण व्यवस्थित गर्नुपर्ने आवश्यकता हुन्छ।

तर उनीहरूसँग ठूला कम्पनीले प्रयोग गर्ने महँगा प्रणाली खरिद गर्ने क्षमता र प्राविधिक जनशक्ति हुँदैन।

ओडुले यही अन्तरलाई व्यावसायिक अवसरका रूपमा पहिचान गर्‍यो।

एउटा व्यवसायलाई चाहिने विभिन्न सफ्टवेयर अलग-अलग खरिद गर्नुपर्ने अवस्थाको सट्टा एउटै प्रणालीमा जोडिएका अनुप्रयोग उपलब्ध गराउने रणनीति अपनाइयो।

यसले ग्राहकलाई लागत व्यवस्थापन गर्न र व्यवसायको समग्र विवरण एउटै प्रणालीबाट हेर्न सहज बनायो।

बिक्री बढ्दा मौज्दातमा कस्तो असर परिरहेको छ, खरिदको विवरणले लेखामा कसरी प्रभाव पारिरहेको छ र ग्राहकको कारोबारको अवस्था के छ भन्ने जानकारी एउटै प्रणालीबाट प्राप्त गर्न सकिने भयो।

ओडुको प्रतिस्पर्धात्मक आधार यही एकीकरण र प्रयोगमा सहजता बन्यो। कम्पनीले प्रविधि अत्यधिक जटिल बनाउनेभन्दा व्यवसायीले सजिलै प्रयोग गर्न सक्ने उत्पादन विकासमा जोड दियो।

पिन्केयर्सले सन् २०२६ मा दिएको एक अन्तर्वार्तामा ठूला सफ्टवेयर कम्पनीले साना तथा मझौला व्यवसायको आवश्यकता र लागतलाई पर्याप्त प्राथमिकता नदिएको धारणा राखेका छन्।

उनका अनुसार ठूला व्यवसायका लागि बनाइएका जटिल प्रणालीको सट्टा साना व्यवसायलाई सरल र छिटो कार्यान्वयन गर्न सकिने समाधान चाहिन्छ।

खुला स्रोतबाट व्यावसायिक आम्दानी

ओडुको सफलताको अर्को महत्वपूर्ण पक्ष यसको खुला स्रोतमा आधारित व्यवसाय मोडल हो।

परम्परागत सफ्टवेयर व्यवसायमा ग्राहकले उत्पादन प्रयोग गर्न निश्चित रकम तिर्नुपर्ने हुन्छ। तर खुला स्रोतको अवधारणामा सफ्टवेयरको स्रोत कोड उपलब्ध गराइन्छ, जसले विकासकर्ता तथा प्रयोगकर्तालाई त्यसको अध्ययन, प्रयोग र आवश्यकताअनुसार परिमार्जन गर्ने अवसर दिन्छ।

ओडुले यही अवधारणालाई आफ्नो व्यवसायको आधार बनायो। कम्पनीले खुला स्रोतमा आधारित सामुदायिक संस्करण विकास गर्‍यो। यसमा विश्वभरका विकासकर्ताले योगदान गर्न सक्ने व्यवस्था बनाइयो।

अर्कोतर्फ थप सुविधा, व्यावसायिक प्रयोग र प्राविधिक सहयोग चाहिने ग्राहकका लागि सशुल्क संस्करण तथा सेवाको व्यवस्था गरियो।

यसले कम्पनीलाई दुईवटा महत्वपूर्ण लाभ दियो।

पहिलो, सफ्टवेयरको प्रयोग विस्तार गर्न ठूलो बिक्री संरचनामा मात्रै निर्भर हुनुपरेन। दोस्रो, विश्वभरका विकासकर्ताको योगदानबाट उत्पादनमा नयाँ सुविधा थप्ने र प्राविधिक सुधार गर्ने अवसर प्राप्त भयो।

कम्पनीले सफ्टवेयर विकासमा मात्र नभई त्यसको कार्यान्वयन र ग्राहक सहयोगमा पनि साझेदार सञ्जाल विस्तार गर्‍यो।

स्थानीय बजारमा काम गर्ने साझेदारले ग्राहकको आवश्यकता बुझ्ने, सफ्टवेयर जडान गर्ने, कर्मचारीलाई तालिम दिने र आवश्यक परिमार्जन गर्ने जिम्मेवारी लिन थाले।

यसरी ओडुको व्यवसाय एउटा सफ्टवेयर बिक्री गर्ने कम्पनीमा सीमित रहेन। यसले सफ्टवेयर विकासकर्ता, कार्यान्वयन साझेदार, प्राविधिक सेवा प्रदायक र प्रयोगकर्तालाई जोड्ने व्यावसायिक प्रणाली निर्माण गर्‍यो।

खुला स्रोतको अर्थ कम्पनीले सबै सेवा निःशुल्क उपलब्ध गराउनु होइन। उत्पादनको आधारभूत पहुँच विस्तार गर्दै व्यावसायिक सुविधा, होस्टिङ, सहयोग र थप सेवाबाट आम्दानी गर्ने यसको रणनीति हो।

यही सन्तुलनले ओडुलाई प्रयोगकर्ता विस्तार र आम्दानी वृद्धि दुवै सम्भव बनाएको छ।

सानो व्यवसायदेखि विश्वव्यापी बजारसम्म

ओडुको विस्तार बेल्जियमको घरेलु बजारमा सीमित रहेन।

कम्पनीले अमेरिका, युरोप, एसिया र अन्य क्षेत्रका बजारमा आफ्नो उपस्थिति विस्तार गर्‍यो। प्रत्यक्ष कार्यालयसँगै स्थानीय साझेदारको सञ्जाल निर्माण गरेर विभिन्न देशका व्यवसायसम्म पुग्ने रणनीति अपनाइयो।

कम्पनीको आधिकारिक विवरणअनुसार अहिले ओडुका २८ मिलियनभन्दा बढी प्रयोगकर्ता छन्। आठ हजारभन्दा बढी कर्मचारी र २१ हजारभन्दा बढी साझेदारको सञ्जाल रहेको कम्पनीले जनाएको छ।

कम्पनीले लेखा, बिक्री, ग्राहक व्यवस्थापन, वेबसाइट, मानव संसाधन, भण्डारण, उत्पादन र अन्य काम समेट्ने ५० वटा मुख्य अनुप्रयोग विकास गरेको छ।

यसको खुला स्रोत समुदायले थप हजारौँ अनुप्रयोग निर्माणमा योगदान गरेको छ।

यो विस्तारले कम्पनीलाई साना व्यवसायको सफ्टवेयर प्रदायकबाट ठूला संस्थाले समेत प्रयोग गर्न सक्ने व्यावसायिक प्रणालीको प्रदायक बनाएको छ।

ओडुको अर्को महत्वपूर्ण पक्ष भनेको विभिन्न उद्योगका आवश्यकताअनुसार प्रणाली प्रयोग गर्न सकिने क्षमता हो।

उत्पादन उद्योग, खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, वितरण व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा र अन्य क्षेत्रमा कम्पनीका अनुप्रयोग प्रयोग भइरहेका छन्।

यसले बजार विस्तारका लागि एउटै उद्योगमा निर्भर रहनुपर्ने अवस्था हटाएको छ।

एउटा उद्योगमा विकसित गरिएको प्रणाली अर्को उद्योगको आवश्यकताअनुसार परिमार्जन गर्न सकिने भएकाले उत्पादनको बजार सम्भावना थप फराकिलो बनेको छ।

नेपालमा पनि ओडुको उपस्थिति देखिन थालेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा नेपालका लागि पाँच कार्यान्वयन साझेदार सूचीबद्ध छन्।

त्यस्तै, नेपालका विभिन्न व्यवसाय तथा संस्थालाई ग्राहक सन्दर्भका रूपमा प्रस्तुत गरिएको छ। उत्पादन, खुद्रा व्यापार, शिक्षा, स्वास्थ्य, आतिथ्य र सूचना प्रविधिजस्ता क्षेत्रमा यसको प्रयोग देखिन्छ।

नेपालजस्तो साना तथा मझौला व्यवसायको ठूलो हिस्सा रहेको बजारमा एकीकृत व्यावसायिक प्रणालीको सम्भावना छ। तर सफ्टवेयर खरिद गरेर मात्रै व्यवसाय व्यवस्थित हुँदैन।

स्थानीय कानुनी व्यवस्था, कर प्रणाली, लेखा अभ्यास, कर्मचारीको क्षमता र ग्राहक सेवाअनुसार प्रणाली कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसैले स्थानीय साझेदारको भूमिका पनि महत्वपूर्ण हुन्छ।

लगानी, विस्तार र अर्बौँको मूल्यांकन

ओडुको विस्तारमा संस्थापकको व्यावसायिक सोचसँगै लगानी र वित्तीय रणनीतिको पनि महत्वपूर्ण भूमिका छ।

कम्पनीले सुरुवाती चरणमा आम्दानी र सेवा व्यवसायबाट आफ्नो सञ्चालनलाई अघि बढाएको थियो। तर अन्तर्राष्ट्रिय बजारमा तीव्र विस्तार गर्न थप पुँजी आवश्यक पर्‍यो।

सन् २०१४ मा कम्पनीले १० मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो। त्यसपछि सन् २०२३ मा अमेरिकी लगानी कम्पनी जनरल एटलान्टिकबाट करिब १५० मिलियन युरोको रणनीतिक लगानी प्राप्त गरेको घोषणा गरियो।

यो लगानीले कम्पनीको विश्वव्यापी विस्तार, उत्पादन विकास र बजार पहुँचलाई थप बलियो बनाउने उद्देश्य राखेको थियो। कम्पनीले लगानी प्राप्त गरे पनि संस्थापकको नेतृत्व र उत्पादन केन्द्रित रणनीति कायम राख्यो।

आम्दानीका हिसाबले पनि ओडुको विस्तार उल्लेखनीय छ।

सन् २०२४ मा कम्पनीको आम्दानी ४२६ मिलियन युरो पुगेको फोर्ब्सको विवरणमा उल्लेख छ। सन् २०२५ मा आम्दानी ६२० मिलियन युरो पुगेको ब्रसेल्स टाइम्सको पछिल्लो विवरण छ।

कम्पनीले सन् २०२५ को वार्षिक कारोबार करिब ६५० मिलियन युरो पुग्ने प्रक्षेपण सार्वजनिक गरेको थियो। सन् २०२७ सम्म एक अर्ब युरोको कारोबार पुर्‍याउने लक्ष्यसमेत राखेको छ।

पिन्केयर्सले सन् २०२६ मा कम्पनीको मूल्यांकन करिब १० अर्ब युरो पुगेको बताएका छन्।

यो बजारमा भएको अन्तिम शेयर कारोबारबाट स्थापित सार्वजनिक बजार मूल्य होइन, सम्भावित लगानीकर्ताले कम्पनीलाई दिन सक्ने मूल्यांकनबारे संस्थापकको भनाइ हो।

फोर्ब्सले सन् २०२६ मा उनको व्यक्तिगत सम्पत्ति करिब ४.३ अर्ब अमेरिकी डलर अनुमान गरेको छ।

यसले सफ्टवेयर व्यवसायबाट सिर्जना हुन सक्ने सम्पत्तिको आकार पनि देखाउँछ। यद्यपि कम्पनीको मूल्यांकन र संस्थापकको व्यक्तिगत सम्पत्ति एउटै कुरा होइन।

संस्थापकको सोच र कम्पनी निर्माणको सूत्र

फाबियन पिन्केयर्सको व्यावसायिक यात्रामा एउटा महत्वपूर्ण पक्ष उत्पादनप्रतिको निरन्तर ध्यान हो।

उनले बजारमा देखिएको समस्या समाधान गर्न सफ्टवेयर निर्माण गरे र ग्राहकको आवश्यकता बदलिँदै जाँदा उत्पादनमा पनि परिवर्तन गर्दै लगे।

उनको अनुभवले व्यवसायको सुरुवातमा ठूलो पुँजीभन्दा समस्या पहिचान, त्यसको व्यावहारिक समाधान र ग्राहकको विश्वास महत्वपूर्ण हुन सक्ने देखाउँछ। तर विचार मात्रै पर्याप्त हुँदैन।

त्यसलाई बजारसम्म पुर्‍याउन निरन्तर अनुसन्धान, उत्पादन सुधार, वित्तीय अनुशासन र विस्तारको स्पष्ट योजना आवश्यक हुन्छ।

ओडुले पनि सुरुवातदेखि एउटै व्यवसाय मोडल कायम राखेन। सेवा प्रदायकबाट सफ्टवेयर उत्पादन कम्पनीमा रूपान्तरण भयो। नाम र उत्पादनको दायरा परिवर्तन भयो।

खुला स्रोत र सशुल्क सेवाबीच सन्तुलन कायम गरियो। प्रत्यक्ष बजार विस्तारसँगै साझेदार सञ्जाल निर्माण गरियो।

यस यात्रामा असफलताको जोखिम र आर्थिक दबाब पनि थियो। तर कम्पनीले बजारको आवश्यकताअनुसार आफूलाई बदल्ने क्षमता विकास गर्‍यो।

यही परिवर्तनशीलताले प्रतिस्पर्धी बजारमा आफ्नो स्थान बनाउन सहयोग गर्‍यो।

नेपालका उद्यमीका लागि पनि यो कथा महत्वपूर्ण छ। यहाँका धेरै व्यवसाय अझै लेखा, बिक्री, मौज्दात र ग्राहक व्यवस्थापनका लागि अलग-अलग प्रणाली वा परम्परागत विधिमा निर्भर छन्।

व्यवसाय बढ्दै जाँदा तथ्यांक व्यवस्थापन, लागत नियन्त्रण र निर्णय प्रक्रियामा समस्या देखिन्छ। यस्तो अवस्थामा प्रविधिमा आधारित व्यावसायिक समाधानको बजार सम्भावना छ।

ओडुको यात्रा एउटा सफ्टवेयर कम्पनीको सफलताको कथा मात्रै होइन। बजारमा ठूलो कम्पनीसँग प्रतिस्पर्धा गर्न सधैँ ठूलो पुँजी नै चाहिन्छ भन्ने मान्यतालाई चुनौती दिने उदाहरण पनि हो।

ग्राहकले भोगिरहेको समस्या पहिचान गरेर सरल र प्रभावकारी समाधान दिन सक्ने व्यवसायले विश्वव्यापी बजारमा आफ्नो स्थान बनाउन सक्छ भन्ने यसको मूल सन्देश हो।

एउटा विद्यार्थीले देखेको व्यावहारिक समस्याबाट सुरु भएको परियोजना आज अर्बौँ युरोको मूल्यांकन भएको अन्तर्राष्ट्रिय कम्पनीमा पुगेको छ।

पिन्केयर्सको यात्रा प्रविधि, बजारको आवश्यकता, व्यावसायिक मोडल र निरन्तर उत्पादन सुधारको संयोजनले सिर्जना गरेको सफलताको कथा बनेको छ।

2