काठमाडौं: ‘अर्णव’ चक्रवातको प्रभाव कमजोर भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसममा सुधार आएको छ। केही दिनदेखिको बदली र वर्षाका कारण प्रभावित जनजीवन आइतबार घाम लागेसँगै सामान्य बन्दै गएको छ।
मौसममा सुधार आएसँगै काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा स्थानीयवासी तथा पर्यटकको चहलपहल बढेको छ। घमाइलो मौसमको फाइदा उठाउँदै सर्वसाधारण घुमफिरका लागि बसन्तपुर पुगेका छन्। सप्ताहान्तसमेत परेकाले दरबार क्षेत्रका खुला स्थान, सम्पदा क्षेत्र र बजारमा मानिसको आवागमन बाक्लिएको छ।
बसन्तपुर क्षेत्रमा पुगेका पर्यटकहरूले ऐतिहासिक सम्पदाको अवलोकन गर्नुका साथै स्थानीय हस्तकलाका सामग्रीमा समेत चासो देखाएका छन्। हस्तकलाका सामग्री बिक्री गर्ने पसलहरूमा ग्राहकको उपस्थिति बढेको छ।
