काठमाडौं: तिहारलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म २८ लाख ५९ हजार थान बत्ती भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँमा ३८ लाख ९२ हजार थान बत्ती आयात भएको थियो। यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशतले बढे पनि परिमाण भने २७ प्रतिशतले घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि र ढुवानी खर्चका कारण विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ। अधिकांश कच्चा पदार्थ चीन र केही भारतबाट आउने गरेकोमा स्रोत बजारमै मूल्य बढेको उनले बताए।
पौडेलले झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र बाहिरी प्लास्टिकको मूल्य बढेको जानकारी दिए। साथै, अघिल्लो वर्ष २ हजारदेखि २ हजार २०० डलर रहेको प्रति कन्टेनर ढुवानी भाडा अहिले ६ हजार डलर पुगेको छ। ढुवानी खर्च तीन गुणासम्म बढेकाले यसको भार उपभोक्तामा पर्ने उनले बताए।
केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन नसक्दा वीरगन्जलगायतका अन्य नाकाबाट घुमाएर ल्याउनुपर्ने बाध्यताले पनि लागत बढाएको छ। बजारमा माग रहे पनि आपूर्ति पक्ष कमजोर भएकाले व्यवसायीसँग पर्याप्त मौज्दात नरहेको र यस वर्ष तिहारमा झिलिमिली बत्ती महँगो पर्ने व्यवसायीको भनाइ छ।
