काठमाडौं: नवलपुरको कावासोती: ९, रामनगरका चण्डिकाप्रसाद लामिछानेले व्यावसायिक मौरीपालनबाट वार्षिक आठदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्दै आएको छ। विगत २५ वर्षदेखि यस व्यवसायमा सक्रिय लामिछानेले हाल करिब तीन सय घार मौरी पालेको छ।
२०५८ सालमा मौरीपालन सुरु गर्नुभएका लामिछानेले सुरुमा तरकारी र फलफूल खेतीलाई पनि सँगै अघि बढाएको थियो। मौरीको घार बढेसँगै उहाँले अन्य काम छाडेर यसैमा केन्द्रित भएको हो। व्यवसायलाई संस्थागत गर्न उहाँले २०६८ सालमा ‘नेचुरल कृषि फर्म’ दर्ता गर्नुभएको छ। मौसम र चरनको उपलब्धताअनुसार उनले वार्षिक सात टनसम्म मह उत्पादन गर्दै आएको छ।
मौरीका लागि चरनको खोजीमा उहाँ सर्लाहीदेखि दाङ र प्युठानसम्म पुग्ने गर्नुहुन्छ। लामिछानेका अनुसार चरनको उपयुक्त व्यवस्थापन गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिन्छ। उनले मौरीपालनमा अरिङ्गाल, सुलसुले, र विभिन्न रोगको जोखिम प्रमुख चुनौती रहेको बताए। “यी प्रकोपबाट मौरीलाई जोगाउन सकियो र राम्रो चरनको व्यवस्था भयो भने मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने।
महको शुद्धता पहिचान गर्न उपभोक्तालाई कठिनाइ भइरहेको अवस्थामा उहाँले प्रयोगशाला परीक्षण नै सबैभन्दा भरपर्दो माध्यम भएको बताए। प्रयोगशाला नभएमा महको स्वाद, वासना र रङमा ध्यान दिन उनको सुझाव छ। मौरीपालनमा समय व्यवस्थापनको चुनौतीबारे उनले भने, “मौरीपालन यस्तो व्यवसाय हो, जसले सधैँ जिम्मेवार बनाइरहन्छ। एक दिनका लागि घर छाडेर अन्यत्र जान पनि सोच्नुपर्छ।”
नयाँ उद्यमीहरूलाई उहाँले बजारको माग, दक्ष जनशक्ति र व्यवस्थापनको अवस्था बुझेर मात्र व्यवसाय सुरु गर्न सुझाव दिएको छ। प्राविधिक ज्ञान र विज्ञको परामर्श उपलब्ध हुन सके व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उनको भनाइ छ।
