काठमाडौं। भोजपुरका किसानलाई यतिबेला तिहार मनाउनुभन्दा धान भित्र्याउने चटारोले छोपेको छ ।
पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त हुनुपर्दा किसानले चाडपर्वका लागि पर्याप्त समय निकाल्न सकेका छैनन् ।
भोजपुर नगरपालिका-५ का किसान रुपनारायण फुयालले कात्तिक १६ गतेदेखि अर्मपर्म गरी धान भित्र्याउन सुरु गरे पनि काम अझै सकिएको छैन । यही गतिमा काम गर्दा मङ्सिरको दोस्रो सातासम्म धान भण्डारणमै व्यस्त हुनुपर्ने उनले बताए ।
खेतीपातीका लागि कामदारको अभाव हुँदा धान भित्र्याउने काममा ढिलाइ भएको किसानहरूको भनाइ छ ।
धान काट्ने, बोक्ने, झाट्ने र भण्डारण गर्ने प्रक्रियामा बढी श्रम र समय लाग्ने भएकाले तिहारको रमाइलोमा सहभागी हुन कठिन भएको उनीहरूले बताएका छन् ।
