काठमाडौं। पछिल्लो समय युरोपेली मुलुक रोमानिया नेपाली कामदारका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार खाडीका चार मुलुक र मलेसियापछि रोमानिया नेपालीको छैटौँ प्रमुख श्रम गन्तव्य बनेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र ७ हजार १ सय ७९ जना नेपालीले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार साउनमा २ हजार ९ सय ८, भदौमा १ हजार ७ सय ९३ र असोजमा २ हजार ४ सय ७८ जनाले श्रम अनुमति लिएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा कुल ३३ हजार ९ सय २० जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएका थिए।
रोमानिया सरकारले हाल न्यूनतम पारिश्रमिक ४ हजार ३ सय २५ रोमानियाली ल्यु अर्थात् करिब १ लाख ३६ हजार रुपैयाँ तोकेको छ। कामदारले सीप र कार्यक्षेत्रका आधारमा सोभन्दा बढी कमाउन सक्नेछन्। त्यहाँ दैनिक ८ घण्टा र हप्तामा ४० घण्टा काम गर्नुपर्ने नियम छ।
सन् २०२५ जनवरी १ देखि सेन्जेन क्षेत्रमा सामेल भएको रोमानियामा म्यानुफ्याक्चरिङ, निर्माण, कृषि, होटल तथा रेस्टुरेन्ट, वेयरहाउस र लजिस्टिक्सजस्ता क्षेत्रमा रोजगारीका अवसरहरू उपलब्ध छन्। नेपाल र रोमानियाबीच १९ असोज २०८० मा श्रम समझदारी भएको थियो, जसले नेपाली श्रमिकलाई स्थानीय कामदारसरह सेवा सुविधा र सामाजिक सुरक्षाको प्रत्याभूति गरेको छ।
युरोपेली मुलुक भए पनि रोमानियामा अंग्रेजीको प्रयोग कम हुने र आधिकारिक भाषा रोमानियन नै रहेको त्यहाँ कार्यरत नेपालीहरू बताउँछन्। पछिल्लो समय नेपालीहरू साइप्रस, क्रोएसिया, माल्टा र पोर्चुगलजस्ता अन्य युरोपेली देशहरूमा पनि रोजगारीका लागि जाने क्रम बढेको छ।
