काठमाडौं: चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ। मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा खानेपानी सेवा प्रदान गर्दै आएको संस्थाले उपभोक्तालाई राहत दिने उद्देश्यले महसुल दरमा कटौती गरेको हो।
समितिका अध्यक्ष राजन चिमौरियाका अनुसार १० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले अब मासिक १७५ रुपैयाँ मात्र तिर्नुपर्नेछ। यसअघि यस्तो महसुल दुई सय रुपैयाँ रहेको थियो। शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको र निम्न वर्गीय परिवारको पहुँच सहज बनाउने उद्देश्यले साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरिएको अध्यक्ष चिमौरियाले बताए।
नयाँ व्यवस्थाअनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले प्रतिहजार लिटरमा ३० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि सो परिमाणका लागि ३२ रुपैयाँ कायम थियो। त्यसैगरी, २० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताका लागि प्रतिहजार लिटरमा ४२ रुपैयाँबाट घटाएर ४० रुपैयाँ कायम गरिएको छ। ३१ हजार लिटरभन्दा बढी पानी खपत गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा ६० रुपैयाँ तिर्नुपर्नेछ, जुन यसअघि ६५ रुपैयाँ थियो।
