घोराही: दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने सुर्केडाँगीस्थित चेपे दह पछिल्लो समय चर्चामा आएको छ। करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको यो कृत्रिम दहले स्थानीय किसानका लागि बाह्रै महिना सिँचाइको सुविधा प्रदान गर्दै आएको छ।
सिँचाइका साथै यस दहलाई आम्दानीको स्रोतका रूपमा पनि प्रयोग गरिएको छ। हाल दहमा व्यावसायिक रूपमा माछापालन हुँदै आएको छ भने आन्तरिक पर्यटकलाई लक्षित गरी डुङ्गा सञ्चालनको व्यवस्थासमेत मिलाइएको छ।
दहको उत्तरतर्फ निर्माणाधीन रिसोर्ट र आसपासको प्राकृतिक दृश्यले यस क्षेत्रको सौन्दर्यलाई थप आकर्षित बनाएको छ। स्थानीय स्तरमा विकास गरिएका यस्ता पूर्वाधारले कृषि र पर्यटन दुवै क्षेत्रमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
