एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। ट्रम्पले तेहरानसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको र द्वन्द्व अन्त्यतर्फ उन्मुख भएको बताएका छन्।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको वार्तापछि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध छिट्टै सकिने विश्वास व्यक्त गरे। उनले इरानको जलसेना ध्वस्त भइसकेको र सैन्य क्षमता कमजोर बनेको दाबीसमेत गरे।
ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट पार्दै परिस्थिति बिग्रिए पुनः आक्रमण गर्न अमेरिका तयार रहेको बताए। यद्यपि तत्काल नयाँ आक्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ।
यसैबीच, इरानले कतारी मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रतिबन्ध फुकुवा र हर्मुज जलडमरूमध्यमा नयाँ जलमार्ग खोल्नेसम्बन्धी प्रस्ताव पठाएको बताइएको छ। तर इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता भइरहेको भन्ने दाबी अस्वीकार गरेका छन्।
युद्ध अन्त्य हुने संकेतसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक प्रतिशतभन्दा बढी घटेको छ। अमेरिकी वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.८ डलरमा झरेको छ भने ब्रेन्ट क्रुड ९१.५६ डलरमा कारोबार भएको छ। यो पछिल्लो १० साताकै न्यून मूल्य नजिक हो।
युद्ध लम्बिए तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिँदै आएको थियो। द्वन्द्व मत्थर हुने अपेक्षाले भने बजारमा दबाब कम गरेको छ।
