काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताउनुभयो ।
उहाँले विश्व बैँकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैँकसँग मिलेर काम गर्न चाहेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताउनुभयो । उहाँले विधयेकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैँकबाट सहयोगको अपेक्षा गर्नुभयो ।
विश्व बैँकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैँकले सहयोग गर्ने बताउनुभयो ।
उहाँले विश्व बैँकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताउनुभयो ।
उहाँले वैकल्पिक विकास वित्त परिचानन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिनु भएको थियो ।