काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ ।
सिजनको सुरुवात आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८ः३० बजे स्पेस फोरके टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत प्रसारण हुने जनाइएको छ ।
करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्सनको दाबी छ । निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले मन पराएका सुबानी मोक्तान र स्वप्न सुमनजस्ता चर्चित गायकहरू रहनेछन् ।
साथै, दस जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन् । कार्यक्रमको सञ्चालन चर्चित हास्यकलाकार सुमन काकीले गर्नेछन् । ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकहरूलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ । नेपाल मात्र हैन, विश्वभर छरिएका नेपाली समुदायका लागि पनि यो कार्यक्रम प्रसारित हुनेछ । अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशहरूमा रहेका दर्शकहरूले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन् ।
यसले कार्यक्रममा अन्तरक्रियात्मकता र समावेशिता थप्ने अपेक्षा गरिएको छ । सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने महत्वपूर्ण भूमिका खेल्दछन् । यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ।’
उनले वर्ल्डलिंकले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्याउन र प्रतिभालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।