काठमाडौँ- काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ ।
शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो ।
राति अबेरसम्म धेरै संरचना हटाउन बाँकी रहेकाले सो कार्यलाई आज पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो ।गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नगर प्रहरी परिचालन गरिएको छ ।
सरकारको निर्देशनअनुसार सार्वजनिक तथा सरकारी जमिनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने कार्य भइरहेको छ ।
महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो अभियान आवश्यक रहेको जनाएको छ । महानगरपालिकाले आगामी दिनमा पनि यस्ता संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ ।