Logo

एसइई नतिजा ६५.९८ प्रतिशत उत्तीर्ण

अ+ अ-

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यस पटक नियमिततर्फ ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यो २०८१ सालको एसइई नतिजाभन्दा चार प्रतिशत धेरै हो । २०८१ सालमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । २०८० सालको नतिजामा भने ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । त्यस्तै एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ननग्रेडेड समूहमा परेका छन् ।

बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार छ वटा समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ । जस अनुसार जिपिए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थी ४८ हजार ३९२ जना छन् । जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने परीक्षार्थी ८० हजार ३९२ जना छन् ।

जिपिए २.८० देखि ३.२० सम्म ल्याउने परीक्षार्थी ९४ हजार २२२ जना छन् । जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९७७ जना छन् । त्यस्तै जिपिए २ देखि २.४० सम्म ल्याउने परीक्षार्थी पाँच हजार १९० तथा सबैभन्दा तल्लो ग्रेड अर्थात् जिपिए १.६० देखि २ सम्म ल्याउने परीक्षार्थी सात जना रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले बताउनुभयो ।

असार १ गतेदखि ग्रेडवृद्धि परीक्षा

ननग्रेडेड समूहमा परेका परीक्षार्थीलाई बोर्डले असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । यस परीक्षामा जति विषयमा अनुत्तीर्ण भएका परीक्षार्थी पनि सहभागी हुन पाउने बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले बताउनुभयो । त्यस्तै अहिलेको नतिजामा चित्त नबुझेका

परीक्षार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।

परीक्षा सकिएको २९ दिनमै नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । बोर्डले परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरेर परीक्षा सकिएको छोटो समयमै नतिजा सार्वजनिकको रेकर्ड राखेको हो । एसइई गत चैत १९ देखि २९ गतेसम्म सम्पन्न भएको थियो । यसअघि सामान्यतया एसइई सकिएको तीन महिनाभित्रमा नतिजा सार्वजनिक हुने गरेको थियो । आधिकारिक दस्ताबेज नभए पनि यस पटकको नतिजा प्रकाशन सम्भवतः इतिहासमै छोटो अवधिमा भएको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अधिकारीले बताउनुभयो ।