Logo

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

अ+ अ-

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । अर्थमन्त्री वाग्लेले नेपालले उत्पादनमूलक र आफैँ तिर्दै जाने क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुराले जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको जिकिर गर्नुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरिएकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री वाग्लेले भन्नुभयो, “ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयज्यूहरूबाट नै आइसकेको छ, ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो, त्यो महत्त्वपूर्ण हो । त्यसमा माननीयज्यूहरूले ठूलो निगरानी गर्नुपर्ने हुन्छ । आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयज्यूहरूले देख्नुहुन्छ– बढी सडक पूर्वाधार, ट्रान्समिसन लाइन जस्ता क्षेत्रमा नै हाम्रो ऋणको लगानी छ । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यो आफैँ तिरिँदै जाने लगानी हो । त्यसले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्दछ । ऋण लिएर घिउ खाएको त होइन नि, उत्पादनमूलक गतिविधिमा लगानी गरिएको हो । यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि खराब होइन ।”

अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सक्ने दाबीसमेत गर्नुभयो ।