नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेसँगै नेपाल प्रहरीको पनि परिमार्जित तलब विवरण सार्वजनिक भएको छ । अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान कार्यान्वयनमा आएको जानकारी दिएको हो ।
नयाँ तलबमान अनुसार नेपाल प्रहरीका सर्वोच्च पद प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको कुल तलब अब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ । उनीहरूको सुरु तलब ७९ हजार २९० रुपैयाँ रहेकोमा दुई वटा ग्रेड थप भई सो रकम कायम भएको हो ।
त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी)को कुल तलब ७३ हजार ७ सय ५० रुपैयाँ र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय ९४ रुपैयाँ पुगेको छ ।
नयाँ सूची अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कुल तलब ६० हजार ८ सय ७४ रुपैयाँ कायम भएको छ। प्रहरी नायब निरीक्षक (सई) को ४८ हजार ३ सय ८७ र सहायक निरीक्षक (असई) को ४४ हजार ५ सय ७७ रुपैयाँ पुगेको छ ।
तल्लो तहमा कार्यरत प्रहरी जवानको कुल तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ भने नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ तोकिएको छ ।
प्रहरी कार्यालय सहयोगीहरूको हकमा पनि नयाँ तलबमान लागू भएको छ । पाँचौँ स्तरका सहयोगीको कुल तलब ४० हजार ९ सय ६२ रुपैयाँ पुगेको छ भने प्रथम स्तरका सहयोगीको २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ ।
