Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्जेन्टिनाबाट तेल ल्याएर भारतमा बेच्दै नेपाल

अ+ अ-

काठमाडौं । नेपालमा भटमासको व्यावसायिक उत्पादन सीमित छ। तर भटमासको तेल भने नेपालको ठूलो निर्यात वस्तु बनेको छ। यसको पछाडि नेपाली खेतको उत्पादन होइन, अर्जेन्टिना र ब्राजिलबाट आयात हुने कच्चा सोयाबिन तेल, नेपालका प्रशोधन उद्योग र भारतको ठूलो बजार जोडिएको व्यापारिक शृंखला छ।

नेपालले समुद्रपारबाट कच्चा सोयाबिन तेल आयात गर्छ, नेपाली उद्योगमा प्रशोधन गर्छ र त्यसपछि ठूलो परिमाणमा भारत निर्यात गर्छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालले १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कच्चा सोयाबिन तेल आयात गरेको छ। त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्जेन्टिनाको छ।

अर्जेन्टिनाबाट मात्रै ९८ अर्ब ८३ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कच्चा सोयाबिन तेल नेपाल भित्रिएको छ। ब्राजिलबाट पनि १७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कच्चा तेल आयात भएको छ। त्यही कच्चा पदार्थ नेपालमा प्रशोधन भएर भारतको बजारमा पुगिरहेको छ।

अर्जेन्टिनाबाट आयातमै ठूलो हिस्सा

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब ८० करोड १२ लाख लिटर कच्चा सोयाबिन तेल आयात गरेको छ। मूल्यका आधारमा यसको ठूलो हिस्सा अर्जेन्टिनाबाट आएको हो। ब्राजिल दोस्रो ठूलो स्रोत बनेको छ। यसका अतिरिक्त चीन, थाइल्यान्ड, पराग्वे, युक्रेन, उरुग्वे र कतारबाट पनि कच्चा सोयाबिन तेल आयात भएको छ।

अर्जेन्टिना विश्वकै प्रमुख सोयाबिन उत्पादक तथा प्रशोधित सोयाबिन तेल निर्यातकर्ता मुलुकमध्ये एक हो। अमेरिकी कृषि विभाग (USDA) का अनुसार अर्जेन्टिनामा ठूलो क्षमताका सोयाबिन क्रसिङ तथा तेल प्रशोधन उद्योग छन्। त्यसैले कच्चा सोयाबिन र तेलजन्य उत्पादनको अन्तर्राष्ट्रिय व्यापारमा अर्जेन्टिनाको महत्वपूर्ण हिस्सा छ।

नेपालले त्यही विश्वव्यापी आपूर्ति शृंखलाबाट कच्चा पदार्थ ल्याएर आफ्नो प्रशोधन उद्योगमा प्रयोग गरिरहेको छ। नेपालको निर्यात तथ्यांकमा यसको प्रभाव पनि ठूलो छ। सोयाबिन तेल पछिल्ला वर्षमा नेपालको प्रमुख निर्यात वस्तुमध्ये परेको छ।

नेपाल राष्ट्र बैंकले समेत आफ्नो समष्टिगत आर्थिक विश्लेषणमा सोयाबिन तेलको निर्यातले नेपालको समग्र निर्यात वृद्धिमा ठूलो योगदान दिएको उल्लेख गर्दै आएको छ।

तर नेपालबाट भारततर्फ जाने तेलको वास्तविक आधार नेपाली भटमास होइन, आयातित कच्चा पदार्थ हो।

भारतको बजारले व्यापार तान्यो

नेपालमा कच्चा सोयाबिन तेल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्नुको मुख्य आधार दुई देशबीचको व्यापार व्यवस्था र भारतको भन्सार संरचनासँग जोडिएको छ।

भारतले कच्चा र प्रशोधित खाने तेलमा फरक–फरक भन्सार दर लागू गर्दै आएको छ। भारतको आफ्नै रिफाइनिङ उद्योगलाई संरक्षण गर्ने उद्देश्यले प्रशोधित तेलमा तुलनात्मक रूपमा उच्च भन्सार रहँदा नेपालबाट उत्पत्तिका आवश्यक मापदण्ड पूरा गरेर आउने प्रशोधित तेलले साफ्टा व्यवस्थाअन्तर्गत भन्सार सुविधा पाउन सक्छ।

यसले नेपालमा प्रशोधन गरेर भारत पठाउने व्यवसायलाई प्रतिस्पर्धी बनाएको हो। भारतमा सिधै कच्चा सोयाबिन तेल ल्याएर प्रशोधन गर्दा लाग्ने लागत र भन्सार तथा नेपालमा ल्याएर प्रशोधनपछि भारत पठाउँदा हुने लागतबीचको अन्तरले नेपाली उद्योगलाई बजार दिएको छ।

भारत विश्वकै सबैभन्दा ठूलो खाने तेल आयातकर्ता मुलुकमध्ये एक हो। ठूलो जनसंख्या र वनस्पति तेलको उच्च मागका कारण भारतीय बजारमा सोयाबिन, पाम र सूर्यमुखी तेलको निरन्तर माग रहन्छ। यही बजारमा नेपालको प्रशोधित सोयाबिन तेलले ठाउँ बनाएको हो।

भारतको वाणिज्य मन्त्रालयको तथ्यांक उद्धृत गर्दै रोयटर्सले २०२५ मा भारतले नेपालबाट ६ लाख ९४ हजार १५३ टन सोयाबिन तेल आयात गरेको जनाएको थियो। अघिल्लो वर्ष यस्तो आयात ६५ हजार १३८ टन मात्रै थियो।

एक वर्षमा नेपालबाट भारततर्फको सोयाबिन तेल निर्यात १० गुणाभन्दा बढी बढेको देखिन्छ। यसले नेपालको प्रशोधन उद्योगले भारतको बजारमा बनाएको पहुँच स्पष्ट गर्छ।

कच्चा तेल खर्बमा प्रशोधित तेल पनि खर्बमा

यो व्यापारको आकार अघिल्लो आर्थिक वर्षको तथ्यांकबाट पनि बुझ्न सकिन्छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, थाइल्यान्ड, इराक, चीन, पराग्वे, बेनिन र टोगोलगायत मुलुकबाट १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको कच्चा सोयाबिन तेल आयात गरेको थियो।

त्यही अवधिमा भारत र अस्ट्रेलियातर्फ १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको प्रशोधित सोयाबिन तेल निर्यात भएको तथ्यांक छ। अर्थात् कच्चा पदार्थ आयात र प्रशोधित वस्तु निर्यातको आकार लगभग एउटै तहमा पुगेको देखिन्छ।

आर्थिक वर्ष २०७३/७४ मा भने अवस्था पूर्णतः फरक थियो। त्यसबेला नेपालले करिब १३ अर्ब रुपैयाँको कच्चा सोयाबिन तेल आयात गर्दा प्रशोधित सोयाबिन तेलको निर्यात केवल करिब १०–१२ करोड रुपैयाँको हाराहारीमा थियो।

आर्थिक वर्ष २०७५/७६ बाट प्रशोधित सोयाबिन तेलको निर्यात तीव्र रूपमा बढ्न थाल्यो। त्यस वर्ष निर्यात करिब २ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो।

त्यसपछि केही वर्षमै यो कारोबार अर्बबाट खर्बमा पुगेको हो। यसको अर्थ नेपालमा सोयाबिन तेल प्रशोधन उद्योगको क्षमता, लगानी र भारतको बजार पहुँच तीव्र रूपमा विस्तार भएको छ। तर यो विस्तारको आधार भने विदेशी कच्चा पदार्थ नै हो।

भारतमै बढ्यो नेपाली तेलमाथि चासो

नेपालबाट भारततर्फ सोयाबिन तेलको निर्यात तीव्र रूपमा बढेपछि भारतीय वनस्पति तेल उद्योगले यसप्रति चासो देखाएको छ।

भारतीय रिफाइनरी उद्योगको संगठन सोल्भेन्ट एक्स्ट्र्याक्टर्स एसोसिएसन अफ इन्डिया (SEA) ले नेपालबाट भन्सार सुविधामा आउने प्रशोधित खाने तेलले भारतीय उद्योगमा प्रतिस्पर्धात्मक दबाब बढाएको बताउँदै आएको छ।

भारतले २०२४ मा कच्चा सोयाबिन तेलको आयातमा लाग्ने प्रभावकारी भन्सार बढाएको थियो। पछि २०२५ मा कच्चा खाने तेलमा पुनः भन्सार दर घटाइएको थियो। तर प्रशोधित तेलमा तुलनात्मक रूपमा उच्च कर संरचना कायम रहँदा नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्ने मोडललाई प्रतिस्पर्धात्मक लाभ मिलेको हो।

यही कारण नेपालबाट भारततर्फ जाने खाने तेलको परिमाणमा तीव्र वृद्धि भएको हो। भारतको खाने तेल बजार ठूलो भएकाले नेपालका लागि तत्कालको निर्यात अवसर पनि यही बजारमा केन्द्रित छ।

तर भारतले आफ्नो घरेलु रिफाइनिङ उद्योगको संरक्षण गर्न नीति परिवर्तन गरेमा यसको प्रत्यक्ष असर नेपालका उद्योगमा पर्न सक्छ। भारतले उत्पत्तिका नियम कडा बनाउने, भन्सार सुविधा पुनरावलोकन गर्ने वा कच्चा तथा प्रशोधित तेलको कर संरचना परिवर्तन गर्ने हो भने अहिलेको व्यापारिक गणित फेरिन सक्छ।

नेपालको सोयाबिन तेल निर्यात त्यसैले आफ्नै उत्पादनभन्दा क्षेत्रीय व्यापार नीति र भन्सार अन्तरमा बढी निर्भर देखिन्छ।

नेपाललाई उद्योगको लाभ कति

आयातित कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गर्दा नेपालले केही महत्वपूर्ण आर्थिक लाभ पाउँछ। प्रशोधन उद्योग सञ्चालन हुन्छन्, रोजगारी सिर्जना हुन्छ, ढुवानी, प्याकेजिङ, बैंकिङ, बीमा र अन्य सेवा क्षेत्रमा कारोबार बढ्छ र निर्यातबाट विदेशी मुद्रा आर्जन हुन्छ।

तर कच्चा पदार्थको ठूलो हिस्सा विदेशबाटै आउने भएकाले कुल निर्यात रकमलाई नै नेपालको वास्तविक मूल्य अभिवृद्धि मान्न मिल्दैन।

उदाहरणका लागि एक खर्ब रुपैयाँभन्दा बढीको कच्चा तेल आयात गरेर त्यसभन्दा केही अर्ब बढी मूल्यको प्रशोधित तेल निर्यात हुँदा बीचको अन्तर नै उद्योगले सिर्जना गरेको सम्पूर्ण मूल्य होइन। त्यसमा प्रशोधन लागत, ऊर्जा, प्याकेजिङ, ढुवानी, वित्तीय लागत र अन्य खर्चसमेत समावेश हुन्छन्।

त्यसैले नेपालको वास्तविक लाभ बुझ्न घरेलु मूल्य अभिवृद्धि, रोजगारी, कर योगदान र उद्योगमा सिर्जना भएको अतिरिक्त मूल्य छुट्टाएर हेर्नुपर्ने हुन्छ। यस व्यापारको अर्को सीमितता नेपालको आफ्नै कृषि उत्पादन हो।

नेपालमा भटमास खेती हुँदै आए पनि व्यावसायिक र औद्योगिक स्तरमा आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन पर्याप्त छैन। भटमास मुख्यतः अन्य बालीसँगै सीमित क्षेत्रमा उत्पादन हुने भएकाले देशभित्रको उत्पादनले ठूलो तेल प्रशोधन उद्योगको आवश्यकता धान्न सक्दैन।

फलतः नेपालका उद्योग अर्जेन्टिना, ब्राजिललगायत देशबाट आउने कच्चा पदार्थमा निर्भर छन्। अहिलेको मोडलले नेपालको प्रशोधन उद्योगलाई अवसर दिएको छ। तर कच्चा पदार्थको स्रोत परिवर्तन गर्न नसक्ने अवस्था पनि बनाएको छ।

यसैबीच विश्व बजारमा सोयाबिन तेलको मूल्य, अर्जेन्टिना र ब्राजिलको उत्पादन, भारतको आयात नीति, नेपाल–भारत व्यापार व्यवस्था र साफ्टाअन्तर्गतको उत्पत्तिका नियमले नेपालको निर्यातलाई प्रत्यक्ष प्रभावित गर्नेछन्।

यसरी हेर्दा अर्जेन्टिनाको खेतबाट निस्किएको भटमासको तेल नेपालका उद्योग हुँदै भारतको भान्सासम्म पुगिरहेको छ। नेपालको भूमिका अहिले कच्चा पदार्थ उत्पादन गर्नेभन्दा त्यसलाई प्रशोधन, प्याकेजिङ र भारतीय बजारसम्म पुर्‍याउने व्यापारिक केन्द्रका रूपमा विस्तार भएको छ।

खर्ब रुपैयाँभन्दा ठूलो कारोबारले उद्योगको सम्भावना देखाएको छ। तर यसको दीर्घकालीन आधार भने आयातित कच्चा पदार्थ, भारतको बजार र दुई देशबीचको व्यापार नीतिमा टिकेको छ।

2