काठमाडौँ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा भएको जनधनको क्षति तथा त्यसपछिको विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो उद्धार तथा राहत संयन्त्र परिचालन गर्ने तयारी गरेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार प्रतिकार्य सञ्चालन, समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको हो।
बैठकले प्रतिकार्य सञ्चालन तथा आवश्यक समन्वयका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइसकेको जनाएको छ। थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने निर्णय भएको छ। बाढी तथा अन्य विपद्बाट घाइते भएका बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने व्यवस्था पनि महानगरले गर्ने भएको छ।
महानगरपालिकाको आपत्कालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा उपलब्ध गराइनेछ। मौज्दात सामग्री तथा औषधि पर्याप्त नहुने अवस्था आएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरी उपलब्ध गराउने निर्णयसमेत समितिले गरेको छ।
महानगरले बाढी प्रभावित क्षेत्रमा उद्धार, स्वास्थ्य उपचार तथा राहत व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ।
