काठमाडौँ। नेपाल बीमक संघले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी बीमा दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री, उपाध्यक्ष अशोककुमार खड्का र महासचिव सुनिल बल्लभ पन्तले भदौ १० गते जारी गरेको विज्ञप्तिमा विपद्को यस घडीमा सम्पूर्ण बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको उल्लेख गरिएको छ।
संघले बाढीबाट क्षति पुगेका बीमित सम्पत्तिको जोखिम बहन तथा बीमा दाबी फर्छ्यौटमा आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण गर्न सबै बीमा कम्पनीलाई आग्रह गर्दै संघले क्षतिको शीघ्र मूल्याङ्कन तथा दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय गर्ने जनाएको छ।
संघले विपद्का कारण क्षति पुगेका बीमितलाई आवश्यक कागजात तथा विवरणसहित सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रिया सुरु गर्नसमेत अनुरोध गरेको छ।
