काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिको बीमा दाबी प्रक्रिया तीव्र बनाउन नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ‘डेडिकेटेड टिम’ बनाएर परिचालन गर्न निर्देशन दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक शुशिलदेव सुवेदीले बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र प्रभावित बीमितको दाबी भुक्तानी प्रक्रिया शीघ्र अघि बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको जानकारी दिए।
“हामीले बीमा कम्पनीहरूलाई डेडिकेटेड टिम बनाएर काम गर्न भनिसकेका छौँ। क्षति कति भयो भन्ने विवरण संकलन हुँदैछ। अधिकांश गाडीमा क्षति भएको अनुमान गरिएको छ,” सुवेदीले भने।
भोटेकोशी बाढीबाट रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। बाढीले घर, सवारीसाधन, व्यावसायिक संरचना तथा विभिन्न पूर्वाधारमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट सिर्जना हुने बीमा दाबीको रकम १० अर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने देखिएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन पूरा भएपछि मात्रै वास्तविक बीमा दाबीको आकार यकिन हुने प्राधिकरणले जनाएको छ।
बीमा दाबीको रकम ठूलो भएमा त्यसको प्रभाव बीमा कम्पनी हुँदै पुनर्बीमा कम्पनीसम्म पर्ने देखिएको छ। विशेषगरी ठूला सम्पत्ति, सवारीसाधन तथा पूर्वाधारको बीमा दाबीमा जोखिमको ठूलो हिस्सा पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुने भएकाले सम्भावित रूपमा पुनर्बीमा क्षेत्रमा समेत दाबीको दबाब बढ्नेछ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा दाबी मूल्यांकन तथा फर्छ्यौट प्रक्रिया अघि बढाउँदा पीडित बीमितलाई अनावश्यक झन्झट नहुने गरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
क्षतिको यकिन विवरण संकलनका लागि सम्बन्धित बीमा कम्पनीहरूले आफ्ना प्रतिनिधि तथा सर्भेयर प्रभावित क्षेत्रमा परिचालन गरिरहेका छन्। क्षतिको विवरण प्राप्त भएपछि बीमा पोलिसी तथा क्षतिको मूल्यांकनका आधारमा दाबी फर्छ्यौट प्रक्रिया अघि बढाइनेछ।
प्राधिकरणका अनुसार अहिलेको प्राथमिकता बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने, दाबी मूल्यांकन प्रक्रिया छिटो अघि बढाउने र वास्तविक क्षतिको आधारमा बीमा भुक्तानी सुनिश्चित गर्ने रहेको छ।
