काठमाडौं। रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले १ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ।
सशस्त्र प्रहरीले भग्न संरचनामा खोज तथा उद्धार गर्न विशेष तालिम प्राप्त टोलीसहित प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य आधार शिविर स्थापना गरी उद्धार कार्य अघि बढाएको हो।
उद्धारका लागि वैकल्पिक विद्युत् आपूर्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी, ठूलो संख्यामा घाइतेको उपचार तथा उद्धार गर्न प्रयोग हुने सवारीसाधन, शव व्यवस्थापन विशेषज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विशेषज्ञ, प्राथमिक स्वास्थ्य प्रतिकार्य विशेषज्ञ तथा गोताखोर र तीव्र बहावमा उद्धार गर्न तालिम प्राप्त सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।
परिचालित टोलीले विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य प्रभावित स्थानमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरसहितको खोजी टोली र ६ वटा ड्रोनसहितको हवाई निगरानी टोलीसमेत परिचालन गरेको छ। परिचालित टोलीले पहिचान गरिएका १२ स्थानबाट ९८ वटा शव फेला पारेको, ३० जना घाइतेको उद्धार गरेको तथा ७३ जनालाई सकुशल उद्धार गरेको जनाएको छ।
बाढीबाट घाइते भएकालाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। थप उपचार आवश्यक पर्ने बाढी प्रभावितका लागि नेपाल सशस्त्र प्रहरी अस्पतालमा १ सय शय्या तयारी अवस्थामा राखिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेका १ सय शय्या क्षमताका विपद् राहत प्रणालीअन्तर्गतका कन्टेनर प्रभावित क्षेत्रमा तत्काल पुर्याउने काम भइरहेको छ। अन्य क्षेत्रमा रहेका यस्ता कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा विभिन्न जिल्लामा रहेका युनिटबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त थप जनशक्ति र आवश्यक उद्धार सामग्रीसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
