काठमाडौं: यस वर्षको तिहारमा पोखरामा मात्र २ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने अनुमान गरिएको छ। पोखरा महानगरपालिकाले व्यावसायिक किसानलाई प्रोत्साहन गरेसँगै यस वर्ष बजारमा खपत हुने ७० प्रतिशत फूल स्थानीय उत्पादनले धान्ने दाबी गरिएको छ। बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला र पालिकाबाट आपूर्ति हुनेछ।
महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार महानगरका विभिन्न वडामा करिब २ सय रोपनी क्षेत्रफलमा सयपत्री र मखमली फूलखेती गरिएको छ। हाल १ सय ६५ किसान र ४२ वटा नर्सरी व्यावसायिक खेतीमा संलग्न छन्। महानगरले किसानलाई उन्नत बिउ र मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान तथा प्राविधिक तालिम प्रदान गर्दै आएको छ।
तिहारको समयमा पोखरामा करिब २ देखि ३ लाख माला र सोही अनुपातमा खुला फूलको माग हुने अनुमान छ। विगतमा भारतबाट ठुलो परिमाणमा फूल आयात गर्नुपर्ने बाध्यता रहे पनि स्थानीय उत्पादन बढेसँगै बाह्य निर्भरता घटेको छ। कडरियाले भने, ‘हामीले किसानलाई अनुदान नै दिएर उत्पादन बढाउने अभियान चलायौँ। न्यूनतम समर्थन मूल्य तोकेपछि मूल्यमा पनि विश्वास बढ्यो।’ हाल महानगरले फूलको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकेको छ।
यस वर्ष जलवायु परिवर्तनको असर फूलखेतीमा देखिएको छ। तापक्रम वृद्धिका कारण १ सय २० दिनमा फुल्नुपर्ने फूल ९० दिनमै फुलिसकेको छ भने वर्षाले गर्दा केही क्षति पुगेको छ। यद्यपि, प्लास्टिक टनेल भित्र गरिएका खेती सुरक्षित रहेको र माग अनुसार आपूर्तिमा कमी नहुने महानगरको आकलन छ।
फूलको बिक्री व्यवस्थापन गर्न महानगरले सडकपेटीमा जथाभाबी बिक्री गर्न रोक लगाउँदै तोकिएको स्थानमा मात्र बिक्री गर्न आग्रह गरेको छ। साथै, स्थानीय फूलको प्रवर्द्धन गर्न कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा पुष्प व्यापार मेला आयोजना गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले मेलाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र बाह्य आयात रोक्ने सन्देश दिने बताए।
