काठमाडौं। अमेरिकाले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढी प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विपद् प्रतिकार्यलाई सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा परिचालन गरिँदैछ। साथै, क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहायता कार्यक्रममार्फत ५ लाख अमेरिकी डलर उपलब्ध गराइनेछ।
उक्त सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यसैबीच, प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीसम्बन्धी आपत्कालीन सहयोग आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारमा ध्यान दिन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न तथा सुरक्षा र आपत्कालीन सूचनाका लागि अमेरिकी विदेश मन्त्रालयको स्मार्ट ट्राभलर दर्ता कार्यक्रममा आबद्ध हुन पनि दूतावासले आग्रह गरेको छ।
नेपालमा रहेका परिवारका सदस्यबारे जानकारी लिन चाहने अमेरिकी नागरिकले अमेरिका र क्यानडाबाट टोल फ्री नम्बर १–८८८–४०७–४७४७ तथा अन्य स्थानबाट १–२०२–५०१–४४४४ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।
