ललितपुर। नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिएको जानकारीअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरका तर्फबाट रु एक करोड रकम प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप जम्मा गर्ने निर्णय गरिएको छ । साथै, यस घटनाबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन महानगरा तत्पर रहेको उनले जानकारी दिए ।
त्यस्तै, गोदावरी नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले बाढी पीडितका लागि रु ५० लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो । प्रमुख गजेन्द्र महर्जनको अध्यक्षताका आज बसेको कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहात तथा उद्धार कोषमा रु ५० लाख हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा आज बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब कटौती गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपद्मा मानवीय सहयोग पुर्याउनु नगरपालिकाको दायित्व भएको बताए ।
“रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ, यस कठिन घडीमा पीडित परिवारको मलमपट्टिका लागि महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ”, नगरप्रमुख श्रेष्ठले भने ।
चीनतर्फ हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बैठकमा नगरउपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गानासहित कार्यपालिका सदस्यको उपस्थिति थियो । महालक्ष्मी नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिहरूको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन गरेको छ । घाइतेहरूको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउने कार्यमा टोली सक्रिय रहेको उपप्रमुख महर्जनले जानकारी दिए ।
