सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहतस्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्ने पालिका अध्यक्ष झम्कनाथ नेपालले बताए ।
