काठमाडौं। एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। नयाँ अवधि शनिबारदेखि लागू हुनेछ।
यससँगै प्रभावित क्षेत्रमा अब थप एक सातासम्म एनसेलका यी सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अन(नेट भ्वाइस तथा १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीनदिने अवधि शुक्रबार समाप्त हुँदैछ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, समन्वय तथा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ। यसबाट प्रभावित क्षेत्रका नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज हुने कम्पनीको विश्वास छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग पुर्याउनु सबैको जिम्मेवारी भएको बताए।
“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं,” दत्ताले भने, “यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो।”
१८ मोबाइल टावर पुनः सञ्चालनमा
एनसेलले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। सञ्चार सेवा निरन्तर कायम राख्दै आपतकालीन खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले काम गरिरहेको छ।
कम्पनीका अनुसार थप ९ वटा प्रभावित टावर पुनः सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको छ।
यसैबीच, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु १ करोड सहयोग गरेको थियो।
एनसेलले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। कम्पनीले एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत आवश्यक सूचना समेत सम्प्रेषण गर्दै आएको जनाएको छ।
