काठमाडौं। तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा बजारमा भित्रिन थालेका छन्।
चाडपर्वमा च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीहरूले बागलुङ, पर्वत, कास्की, काठमाडौं, चितवन र बुटवललगायतका सहरमा च्याङ्ग्रा पुर्याउन सुरु गरेका छन्। पछिल्लो एक सातादेखि मुस्ताङ, डोल्पा र तिब्बतबाट भेडा-च्याङ्ग्रा ल्याउने क्रम जारी छ।
यस वर्ष बाढीपहिरोका कारण च्याङ्ग्राको संख्यामा कमी आएको छ। बागलुङमा मालढुंगा पुलको पहुँचमार्ग बगाउँदा दसैँका बेला ढुवानीमा समस्या भएको थियो।
व्यापारी दिक्पाल गुरुङका अनुसार डोल्पा र मुस्ताङको सिमानाबाट करिब २३ दिनको यात्रापछि ३०० च्याङ्ग्रा बागलुङ ल्याइएको छ। उनले ती च्याङ्ग्रा काठमाडौँसम्म पुर्याउने योजना रहेको बताएका छन्।
बागलुङ बजारमा अहिले रोज्जा च्याङ्ग्राको मूल्य ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म रहेको छ। उपभोक्ता विजय पौडेलका अनुसार च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म पुगेको छ।
गत वर्ष सोही मासु प्रतिकिलो १ हजार ९०० रुपैयाँमा पाइने गरेको थियो। बाढीपहिरोका कारण ढुवानीमा भएको कठिनाइले मूल्य बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ।
हिमाली च्याङ्ग्राको मासु अन्य पशुको तुलनामा बढी स्वादिष्ट र स्वस्थकर मानिने भएकाले यसको माग उच्च रहने गरेको छ।
