काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौं नागरिक प्रभावित भएको कठिन परिस्थितिमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
बाढी प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा राज्य तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउन बैंकले आफ्नो तर्फबाट योगदान गरेको हो । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा केही हदसम्म टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
