Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टाटाः २१ हजार रुपैयाँबाट शुरु भएको असाधारण यात्राको कथा

२१ हजार रुपैयाँबाट सुरु भएको टाटाले व्यापारलाई राष्ट्रनिर्माणको शक्तिमा बदल्यो। आज विश्वव्यापी व्यापारिक साम्राज्यमा बन्न पुगेको टाटाको सफलता केवल एउटा कम्पनीको कथा होइन–दूरदृष्टि, जोखिम र विश्वासले कसरी एउटा विचारलाई विश्वशक्तिमा बदल्छ भन्ने कथा हो।

टाटाः २१ हजार रुपैयाँबाट शुरु भएको असाधारण यात्राको कथा
अ+ अ-

सन् १८६८, आजभन्दा १५८ वर्षअघि।

भारत ब्रिटिस शासनको अधीनमा थियो। देशको अर्थतन्त्र कृषिमा टिकेको थियो। उद्योग भन्नु केही कपडा मिल र साना-ठूला व्यापारिक प्रतिष्ठानमा सीमित थियो। सम्पूर्ण राजनीतिक–व्यापारिक प्रभुत्व विदेशीको औपनिवेशिक शासन रहेका बेला भारतीय उद्यमीका लागि व्यबसायमा स्थान बनाउनु निकै कठिन समय थियो। आधुनिक औद्योगिक भारतको कल्पना अझै भविष्यको कुनै टाढाको सपना थियो।

हो, त्यही चुनौतीपूर्ण समयमा-औपनिवेशिक भारतको मुम्बईमा व्यापारिक हलचलबीच-२९ वर्षीय एक युवकले मात्र २१ हजार रुपैयाँको पुँजीबाट एउटा सानो व्यापारिक कम्पनी सुरु गरे। उनको नाम थियो-जमशेदजी टाटा। उनको हातमा ठूलो पुँजी थिएन। बैंकमा करोडौँ रुपैयाँ थिएन। पछाडि कुनै विशाल औद्योगिक साम्राज्य थिएन। थियो त केवल २१ हजार रुपैयाँ।

त्यो रकमभन्दा ठूलो एउटा कुरा उनीसँग थियो-भारत कस्तो बन्न सक्छ भन्ने कल्पना। उनले केवल सामान किनबेच गर्ने व्यापार देखेका थिएनन्। उनले उद्योग देखेका थिए, रोजगारी देखेका थिए, विज्ञान र प्रविधि देखेका थिए, आत्मनिर्भर भारत देखेका थिए।

२१ हजार रुपैयाँबाट सुरु भएको त्यो सानो व्यापार, त्यसैले केवल एउटा कम्पनीको सुरुवात थिएन। त्यो एउटा यस्तो विचारको सुरुवात थियो, जसले दशकौँपछि भारतको औद्योगिक भाग्य बदल्ने थियो। र यहीँबाट सुरु हुन्छ- टाटा कम्पनीको कथा।

भारतले आफ्नै उद्योग बनाउनुपर्छ। भारतले आफ्नै ज्ञान, ऊर्जा, इस्पात र प्रविधि निर्माण गर्नुपर्छ भन्ने मनसायका साथ व्यबसाय शुरु गर्ने युवक जमशेदजी नुसेरवानजी टाटा कै देन हो अहिलेको टाटा समुह।

जमशेदजी नुसेरवानजी टाटा ले सुरु गरेको त्यो सानो व्यापारिक कम्पनी नै पछि टाटा समूह बन्यो। आज टाटाका कम्पनीहरूको संयुक्त आम्दानी १८० अर्ब डलरभन्दा बढी छ, विश्वभर १० लाखभन्दा बढी मानिसलाई रोजगारी दिन्छन् र सयभन्दा बढी देशमा फैलिएका छन्। २६ वटा सार्वजनिक रूपमा सूचीकृत टाटा कम्पनीहरूको संयुक्त बजार पुँजीकरण मार्च २०२५ सम्म ३२८ अर्ब डलरभन्दा बढी भइसकेको छ। तर टाटाको असली कथा यी संख्याभन्दा बाहिर छ।

किनकि टाटाको सबैभन्दा ठूलो उपलब्धि कति पैसा कमायो भन्ने होइन।

उसले एउटा यस्तो व्यापारिक दर्शन निर्माण गर्‍यो, जहाँ व्यवसायको सफलता र समाजको सफलता अलग-अलग कुरा मानिएन। त्यही दर्शनले एउटा व्यापारिक घरानालाई उद्योग, प्रविधि, विमान, होटल, इस्पात, ऊर्जा, गाडी, चिया, खुद्रा व्यापारदेखि डिजिटल अर्थतन्त्रसम्म फैलिएको विश्वव्यापी साम्राज्यमा बदल्यो।

२१ हजार रुपैयाँको त्यो सुरुवात

जमशेदजी टाटाले सन् १८६८ मा व्यापार सुरु गर्दा भारतमा औद्योगिक वातावरण अनुकूल नभएपनि उनको सोच तत्कालीन व्यापारीहरूको भन्दा फरक थियो। उनी केवल सामान किनबेच गरेर नाफा कमाउन चाहँदैनथे। उनी भारतलाई औद्योगिक रूपमा आत्मनिर्भर बनाउन चाहन्थे। त्यसैले केही वर्षमै उनले कपडा उद्योगमा प्रवेश गरे।

नागपुरमा स्थापना गरिएको एम्प्रेस मिलले आधुनिक व्यवस्थापन र कर्मचारी कल्याणका नयाँ अभ्यासहरू सुरु गर्‍यो। कानुनले अनिवार्य नगरेका समयमा पनि कर्मचारीको हितलाई प्राथमिकता दिने उनको दृष्टिकोण थियो। त्यसपछि उनको सपना अझ ठूलो हुँदै गयो। उनलाई भारतमा विश्वस्तरीय विज्ञान तथा अनुसन्धान संस्था चाहिएको थियो।

भारतीय विद्यार्थीले विदेश जानैपर्ने अवस्था अन्त्य गर्नुपर्छ भन्ने उनको विश्वास थियो। त्यसैले सन् १८९२ मै उनले उच्च शिक्षाका लागि विदेश जाने भारतीय विद्यार्थीलाई सहयोग गर्ने छात्रवृत्ति कोष सुरु गरे। उनको सपना पछि भारतीय विज्ञान संस्थानजस्ता संस्थामा परिणत भयो। यहीँबाट टाटाको एउटा विशेषता देखिन्छ- उनी बजार देखेर व्यवसायमा प्रवेश गर्दैनथे; उनी भविष्य देखेर व्यवसायमा प्रवेश गर्थे।

होटल पनि एउटा विद्रोह थियो ।

सन् १९०३।

मुम्बईमा ताजमहल होटल खुल्यो।

आज पाँचतारे होटल सामान्य कुरा लाग्न सक्छ। तर त्यतिबेला भारतमा यस्तो विश्वस्तरीय होटलको निर्माण आफैंमा असाधारण थियो।

जमशेदजीका लागि त्यो केवल होटल थिएन। यो एउटा सन्देश थियो – भारतीयहरूले पनि विश्वस्तरीय संस्था बनाउन सक्छन्। त्यही वर्षदेखि टाटाको व्यवसायिक यात्रा केवल उद्योगमा सीमित रहेन। आतिथ्य, संस्कृति, शिक्षा र सामाजिक पूर्वाधार पनि उसको दृष्टिकोणको हिस्सा बन्दै गए। टाटाको आधिकारिक इतिहासअनुसार ताजमहल होटल जमशेदजीको जीवनकालमै पूरा भएको उनको प्रमुख सपनामध्ये एक थियो।

इस्पातको सपना

जमशेदजीको सबैभन्दा ठूलो सपना अझै पूरा भएको थिएन।

उनी मान्थे- औद्योगिक राष्ट्र बन्न भारतले आफ्नै इस्पात उत्पादन गर्नुपर्छ। यो विचार त्यतिबेला जोखिमपूर्ण थियो। भारतमा आधुनिक इस्पात उद्योग थिएन। भौगोलिक कठिनाइ, लगानीको समस्या, प्रविधिको अभाव र औपनिवेशिक प्रशासनका जटिलताबीच यस्तो परियोजना सुरु गर्नु लगभग असम्भवजस्तै थियो।

तर सपना रोकिएन।

सन् १९०७ मा टाटा आयरन एन्ड स्टिल कम्पनी स्थापना भयो। पछि यही टाटा स्टिल बन्यो। जमशेदजीले आफ्नो जीवनकालमा पहिलो इस्पात उत्पादन देख्न पाएनन्। उनको निधन १९०४ मा भयो। तर उनका छोरा सर दोराबजी टाटाले त्यो सपना छाडेनन्। सन् १९१२ मा पहिलो इस्पात उत्पादन भयो। इस्पात कारखानासँगै एउटा अर्को कुरा पनि निर्माण भइरहेको थियो – एउटा सहर।

साक्चीमा विकसित भएको औद्योगिक बस्ती पछि जमशेदपुर बन्यो।

अर्थात् टाटाले कारखाना मात्र बनाएन। उसले कारखानासँगै समुदाय बनायो। यही कारण टाटाको कथा परम्परागत व्यवसायिक इतिहासभन्दा फरक छ।

व्यवसायभन्दा ठूलो एउटा विचार

टाटाको प्रारम्भिक इतिहासलाई हेर्दा एउटा ढाँचा स्पष्ट देखिन्छ।

होटल आयो-तर त्यससँगै आतिथ्यको नयाँ मापदण्ड आयो।

इस्पात आयो-तर त्यससँगै औद्योगिक सहर आयो।

ऊर्जा आयो-तर त्यससँगै विद्युत् पूर्वाधार विस्तार भयो।

शिक्षा आयो-तर त्यससँगै ज्ञानको नयाँ आधार बन्यो।

यही कारण टाटा समूहको सबैभन्दा महत्वपूर्ण सम्पत्ति कुनै एउटा कारखाना, ब्रान्ड वा प्रविधि होइन।

सबैको सन्देश थियो विश्वास- ‘व्यवसाय समाजबाट अलग छैन।’ आज टाटा सन्सको ६६ प्रतिशत इक्विटी परोपकारी ट्रस्टहरूको स्वामित्वमा छ। यी ट्रस्टहरूले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, कला र संस्कृतिमा लगानी गर्छन्। यसले टाटाको व्यवसायिक संरचनालाई नै असाधारण बनाएको छ।

व्यवसायले सम्पत्ति सिर्जना गर्छ। स्वामित्वको ठूलो हिस्सा परोपकारी संस्थासँग जोडिएको छ। त्यसबाट समाजमा पुनः लगानी हुन्छ। यो केवल परोपकार होइन। यो व्यवसाय र सामाजिक उत्तरदायित्वलाई एउटै संरचनामा गाँस्ने मोडल हो।

एयर इन्डिया : टाटाबाट जन्मिएर फेरि फर्किएको कथा

सन् १९३२।

भारतमा व्यावसायिक हवाई उडानको सुरुवात हुँदै थियो। २४ वर्षको उमेरमा भारतकै पहिलो पाइलट लाइसेन्स पाएका जे. आर. डी. टाटाले १५ अक्टोबर १९३२ मा कराँचीबाट मुम्बईसम्म पहिलो व्यावसायिक उडान भरे। जहाँ अरूले व्यापारमा रेल, कपडा र उद्योग देखिरहेका थिए, जे. आर. डी. टाटाले विमान देखिरहेका थिए। त्यसैसँग जन्मियो-टाटा एयरलाइन्स, जुन पछि एयर इन्डिया बन्यो।

त्यो केवल एउटा विमानको उडान थिएन। भारतको नागरिक उड्डयन उद्योगको सुरुवात थियो। तर टाटाको आफ्नै एयरलाइन धेरै समय उनीहरूसँग रहेन। सन् १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गर्यो। जे. आर. डी. टाटा त्यस निर्णयको पक्षमा थिएनन्, तर त्यसपछि पनि उनी १९७७ सम्म एयर इन्डियाको नेतृत्वमा रहे। त्यसपछि सुरु भयो एयर इन्डियाको अर्को लामो अध्याय-सरकारी स्वामित्व, बढ्दो घाटा र कमजोर वित्तीय अवस्थासँगको संघर्ष।

झन्डै ७ दशकपछि कथा फेरि उल्टियो।

८ अक्टोबर २०२१ मा टाटा समूहले १८ हजार करोड रुपैयाँमा एयर इन्डिया किन्ने प्रतिस्पर्धात्मक बोलपत्र जित्यो र २७ जनवरी २०२२ मा एयर इन्डिया औपचारिक रूपमा टाटा समूहमा फर्कियो। लगभग ६९ वर्षपछि आफ्नै संस्थापक समूहमा फर्किएको एयर इन्डियाको यो पुनरागमन भारतीय कर्पोरेट इतिहासकै असाधारण ‘घरफिर्ती’ बन्यो। तर टाटाको लक्ष्य केवल पुरानो एयरलाइन फिर्ता लिनु थिएन। उसले एयर इन्डियालाई पुनःनिर्माण गर्ने ठूलो परियोजना सुरु गर्यो-विमान थप्ने, पुरानो जहाजको आन्तरिक संरचना सुधार्ने, प्रविधि र व्यवस्थापन प्रणाली आधुनिकीकरण गर्ने तथा विश्वस्तरीय सेवा निर्माण गर्ने।

यसै क्रममा एयर इन्डिया र भिस्तारा १२ नोभेम्बर २०२४ मा एकीकृत भए। यसपछि एयर इन्डिया समूहसँग करिब ३०० विमान र ८,३०० भन्दा बढी साप्ताहिक उडान भएको ठूलो अन्तर्राष्ट्रिय सञ्जाल तयार भयो।

तर पुनरुत्थान सजिलो छैन। एयर इन्डियाले पुरानो बेडा, आपूर्ति शृङ्खला, प्रविधि, संगठनात्मक संस्कृति र उच्च लागतजस्ता समस्यासँग एकैपटक जुधिरहेको छ। टाटा नेतृत्वले पनि यो परिवर्तनलाई छोटो परियोजना नभई वर्षौँ लाग्ने पुनर्निर्माणका रूपमा हेरेको छ।

यही कारण एयर इन्डियाको कथा केवल एउटा एयरलाइनको कथा होइन। लगभग एक शताब्दी लामो यात्रामा एयर इन्डियाले स्वामित्व मात्र बदलेन-भारतको उड्डयन इतिहाससँगै आफ्नो पहिचान पनि पुनर्निर्माण गर्यो। यो एउटा व्यवसाय फिर्ता पाउनु मात्र नभएर ६९ वर्षपछि आफ्नो इतिहासको एउटा अध्याय फेरि आफैँले लेख्न पाउनु हो।

जब टाटाले कम्प्युटरमा भविष्य देखे

सन् १९६८।

भारतमा सूचना प्रविधि उद्योगको आकार अझै बनेको थिएन। कम्प्युटर सीमित संस्थाको पहुँचमा थिए। डिजिटल अर्थतन्त्रको कल्पना धेरै टाढाको विषय थियो। त्यही बेला टाटा समूहले कम्प्युटरमा भविष्य देख्दै टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस) स्थापना गर्‍यो।

टीसीएसको सुरुवात केवल एउटा नयाँ कम्पनीको जन्म थिएन। यो भारतको सूचना प्रविधि उद्योगको एउटा आधारशिला थियो।

पछिल्ला पाँच दशकमा प्रविधि पटक–पटक बदलियो-मेनफ्रेमबाट व्यक्तिगत कम्प्युटर, इन्टरनेटबाट क्लाउड, मोबाइलबाट कृत्रिम बुद्धिमत्तासम्म। धेरै कम्पनीले यी परिवर्तनसँगै आफूलाई समायोजन गरे; टीसीएसले भने हरेक प्रविधि–लहर आउनुअघि नै आफूलाई पुनःनिर्माण गर्दै गयो।

आज टीसीएस विश्वका अग्रणी संस्थाहरूको प्रविधि साझेदार बनेको छ। ५६ देशमा फैलिएको कार्यबल र १९४ सेवा केन्द्रमार्फत यसले विश्वव्यापी ग्राहकलाई प्रविधि, डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा सेवा दिइरहेको छ। अब यसको अर्को लक्ष्य अझ ठूलो छ- एआई (कृत्रिम बुद्धिमत्ता)मा आधारित विश्वकै अग्रणी प्रविधि सेवा कम्पनी बन्ने।

यसका लागि टीसीएस पूर्वाधारदेखि बुद्धिमत्तासम्म कृत्रिम बुद्धिमत्ताको सम्पूर्ण तहमा ग्राहकको रूपान्तरणलाई अघि बढाइरहेको छ।

टाटा समूहको दीर्घकालीन सोचबाट निर्देशित टीसीएसले प्रविधिसँगै सम्बन्ध पनि निर्माण गरेको छ। उसका धेरै ग्राहकसँगको साझेदारी दशकौँ पुरानो छ-सन् १९७० को दशकका मेनफ्रेमदेखि आजको कृत्रिम बुद्धिमत्तासम्म।

आकार पनि त्यत्तिकै ठूलो भएको छ। मार्च ३१, २०२६ मा समाप्त आर्थिक वर्षमा टीसीएसको समेकित आम्दानी ३० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। तर टीसीएसको कथा केवल ३० अर्ब डलरको आम्दानीसम्म पुग्ने कथा होइन।

यो एउटा यस्तो कम्पनीको कथा हो, जसले भारतमा सूचना प्रविधिको भविष्य देखिनुअघि नै त्यसमा लगानी गर्‍यो—र प्रविधि बदलिँदै जाँदा आफूलाई पनि बदलिरह्यो। तेस्रो औद्योगिक क्रान्तिबाट चौथो औद्योगिक क्रान्तिसम्म-टीसीएसको यात्रा टाटाको एउटा पुरानो सूत्रको आधुनिक रूप हो : भविष्यको प्रतीक्षा नगर्नु, भविष्य निर्माण गर्न थाल्नु।

रतन टाटा र परिवर्तनको अर्को अध्याय

सन् १९९१।

भारत आर्थिक उदारीकरणको नयाँ युगमा प्रवेश गर्दै थियो। त्यही वर्ष रतन टाटा टाटा सन्सको अध्यक्ष बने। टाटाभित्र पनि परिवर्तन आवश्यक थियो। समूहमा धेरै कम्पनी थिए। तर ती सबै एउटै दिशामा चलिरहेका थिएनन्। विश्व बजारमा प्रतिस्पर्धा गर्न पुरानो शैली पर्याप्त थिएन। रतन टाटाले पुनर्संरचना सुरु गरे। तर उनको सबैभन्दा ठूलो परिवर्तन एउटा भौगोलिक परिवर्तन थियो- टाटा अब भारतका लागि मात्र व्यवसाय गर्ने समूह रहनु हुँदैन। उसे विश्वसँग प्रतिस्पर्धा गर्नुपर्छ। र त्यसका लागि उसले विश्वस्तरीय कम्पनीहरू किन्न थाल्यो।

टेट्लीः जब भारतीय कम्पनीले ब्रिटिस ब्रान्ड किन्यो

सन् २०००।

टाटा टीले बेलायतको चर्चित चिया ब्रान्ड टेट्ली किन्यो। यो एउटा व्यापारिक कारोबार थियो। तर यसको प्रतीकात्मक अर्थ अझ ठूलो थियो। औपनिवेशिक इतिहास बोकेको भारतको एउटा कम्पनीले बेलायतकै स्थापित ब्रान्ड खरिद गरिरहेको थियो। एक समय बेलायत भारतमा कम्पनी लिएर आएको थियो।

अब भारतको कम्पनी बेलायतमा कम्पनी किन्न पुगेको थियो। टाटाको विश्वव्यापीकरण यहीँबाट नयाँ मनोवैज्ञानिक उचाइमा पुग्यो। टाटाले पछि कोरस, जगुआर ल्यान्ड रोभर, ब्रुनर मोन्ड, डाएवु कमर्सियल भेहिकल्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सम्पत्ति तथा कम्पनीहरू खरिद गर्दै गयो।

कोरसः इस्पातको अर्को सीमा

सन् २००७।

टाटा स्टिलले युरोपको ठूलो इस्पात कम्पनी कोरस अधिग्रहण गर्‍यो। यो केवल क्षमता विस्तार थिएन। यो भारतीय उद्योगको आत्मविश्वासको घोषणा थियो। टाटा अब भारतभित्र उद्योग बनाउने कम्पनी मात्र थिएन। ऊ विश्वका स्थापित औद्योगिक सम्पत्तिहरू किन्न सक्ने कम्पनी बनिसकेको थियो।

जगुआर ल्यान्ड रोभरः टाटाको सबैभन्दा ठूलो दाउ

सन् २००८।

विश्वव्यापी आर्थिक संकटको पूर्वसन्ध्या। टाटा मोटर्सले फोर्डबाट जगुआर र ल्यान्ड रोभर किन्यो।

धेरैका लागि यो निर्णय असाधारण थियो। भारतको एक कम्पनीले विश्वका प्रतिष्ठित ब्रिटिस लक्जरी गाडी ब्रान्ड किन्न लागेको थियो। तर यहाँ रतन टाटाको नेतृत्वको एउटा महत्वपूर्ण पक्ष देखियो। टाटाले जगुआर ल्यान्ड रोभरलाई केवल आफ्नो अर्को ब्रान्ड बनाउन खोजेन। उसले त्यसको पहिचान, डिजाइन, प्रविधि र ब्रिटिस विरासतलाई जोगाउँदै त्यसमा लगानी गर्‍यो। आज जगुआर ल्यान्ड रोभर टाटा मोटर्सको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो। आर्थिक वर्ष २०२४–२५ मा यसको आम्दानी करिब २९ अर्ब पाउन्ड पुगेको थियो। यहीँ टाटाको एउटा असाधारण रणनीति देखिन्छ – कम्पनी किन्नु र कम्पनीको आत्मा किन्नु एउटै कुरा होइन। टाटाले ब्रान्डलाई भारतीय बनाउने प्रयास गरेन। बरु उसलाई अझ बलियो ब्रिटिस ब्रान्ड बन्ने अवसर दियो।

नानोः टाटाको असफलताको कथा पनि उत्तिकै महत्वपूर्ण

टाटाको कथा सफलताहरूको मात्र संग्रह होइन। सन् २००८ मा टाटा नानो सार्वजनिक भयो। उद्देश्य थियो-साधारण भारतीय परिवारलाई कारको पहुँचमा ल्याउने। यसले विश्वको ध्यान खिच्यो। तर बजारमा नानोले अपेक्षित सफलता हासिल गर्न सकेन। यही असफलताले टाटाको अर्को विशेषता देखाउँछ। नानो असफल भयो। तर टाटाको प्रयोग गर्ने साहस असफल भएन। व्यवसायमा असफलता प्रायः लुकाइन्छ। टाटाको कथामा भने असफलता पनि पाठ बनेर रह्यो। रतन टाटाको नेतृत्वको सार शायद यही थियो- ‘पहिले कहिल्यै नगरिएको काम गर्ने प्रयास गर।’

रतन टाटा: शक्तिको बीचमा सरलता

रतन टाटाको कथा केवल अधिग्रहणको कथा होइन। यो व्यक्तित्वको पनि कथा हो। उनी विश्वका सबैभन्दा ठूलो व्यापारिक समूहका प्रमुखमध्ये एक भए। तर उनको सार्वजनिक छवि अत्यन्तै सरल रह्यो। उनको नेतृत्वमा टाटाको अन्तर्राष्ट्रिय विस्तार तीव्र भयो। टेट्लीदेखि कोरस र जगुआर ल्यान्ड रोभरसम्मका अधिग्रहणले समूहको आकार र पहुँच बदल्यो। तर उनीसँग जोडिएको अर्को शब्द थियो- विनम्रता।

सन् २०२४ को अक्टोबर ९ मा ८६ वर्षको उमेरमा उनको निधन भयो। टाटा समूहका अध्यक्ष एन. चन्द्रशेखरनले उनलाई केवल अध्यक्ष नभई मार्गदर्शक, मित्र र उदाहरणबाट नेतृत्व गर्ने व्यक्तिका रूपमा सम्झिए। टाटा समूहले उनको विरासतलाई उत्कृष्टता, इमानदारी, नवप्रवर्तन, परोपकार र विनम्रतासँग जोडेको छ। रतन टाटाको सबैभन्दा ठूलो विरासत शायद उनले किनेका कम्पनीहरू होइनन्। उनले टाटालाई दिएको आत्मविश्वास हो।

जब पुरानो एयरलाइन फेरि घर फर्कियो

एयर इन्डियाको पुनरागमनले टाटाको यात्रालाई एउटा सुन्दर पूर्णता दियो। एक समय टाटाले आकाशमा उडाएको कम्पनी राज्यको स्वामित्वमा पुग्यो। दशकौँपछि फेरि त्यही एयरलाइन टाटा समूहमा फर्कियो। यो केवल एउटा अधिग्रहण थिएन। यो इतिहाससँग गरिएको पुनर्मिलन थियो। र यही आजको टाटाको विशेषता हो- पुरानो सम्पत्तिलाई नयाँ भविष्यसँग जोड्ने क्षमता।

अब टाटाको अगाडिको युद्ध

आज टाटा समूह पुरानो औद्योगिक घराना मात्र होइन। यो प्रविधि, मोटर, इस्पात, ऊर्जा, उपभोक्ता वस्तु, खुद्रा व्यापार, वित्तीय सेवा, दूरसञ्चार, विमान सेवा, आतिथ्य, रक्षा तथा अन्तरिक्ष, विद्युतीय उपकरण र ब्याट्रीजस्ता नयाँ क्षेत्रतर्फ फैलिएको छ। टाटा समूहका कम्पनीहरूले सयभन्दा बढी देशमा काम गर्छन् र समूहका कम्पनीहरूको २०२४–२५ को संयुक्त आम्दानी १८० अर्ब डलरभन्दा बढी थियो। अब टाटाको अगाडिको प्रश्न पनि बदलिएको छ। पहिले प्रश्न थियो- भारतलाई औद्योगिक कसरी बनाउने?

पछि प्रश्न भयो- भारतीय कम्पनी विश्वसँग कसरी प्रतिस्पर्धा गर्ने?

अब प्रश्न छ- अर्को विश्वव्यापी परिवर्तनमा नेतृत्व कसले गर्ने?

विद्युतीय सवारी। ब्याट्री। नवीकरणीय ऊर्जा। कृत्रिम बुद्धिमत्ता। सेमिकन्डक्टर। डिजिटल व्यापार। उन्नत उत्पादन। यी सबै क्षेत्रमा टाटाले नयाँ लगानी र व्यवसाय निर्माणतर्फ कदम बढाइरहेको छ। टाटाको पछिल्लो वार्षिक प्रतिवेदनले इलेक्ट्रोनिक्स, दूरसञ्चार तथा नेटवर्क उपकरण, विमान सेवा र ब्याट्री उत्पादनजस्ता नयाँ क्षेत्रलाई आगामी वृद्धिका महत्वपूर्ण क्षेत्रका रूपमा देखाउँछ।

टाटाको असली प्रतिस्पर्धात्मक शक्ति के हो?

टाटासँग धेरै कम्पनी छन्। तर टाटालाई ठूलो बनाउने कारण कम्पनीहरूको संख्या मात्र होइन। यसको शक्ति चार तहमा देखिन्छ।

पहिलो-दीर्घकालीन सोच: जमशेदजीले त्यस्ता उद्योगमा लगानी गरे, जसको प्रतिफल उनको जीवनकालमै नआउन सक्छ भन्ने उनलाई थाहा थियो।

दोस्रो-जोखिम लिने क्षमता: टेट्ली, कोरस र जगुआर ल्यान्ड रोभरजस्ता अधिग्रहण सामान्य निर्णय थिएनन्।

तेस्रो-परिवर्तनसँगै बदलिने क्षमता: कपडाबाट इस्पात, इस्पातबाट ऊर्जा, ऊर्जाबाट प्रविधि, प्रविधिबाट डिजिटल अर्थतन्त्रसम्म टाटा लगातार बदलियो।

चौथो- विश्वास: टाटाको सबैभन्दा कठिन समयमा पनि उसको ब्रान्डसँग जोडिएको एउटा पूँजी रह्यो-

विश्वास। र व्यवसायमा विश्वास त्यस्तो सम्पत्ति हो, जुन ब्यालेन्स सिटमा देखिँदैन।

२१ हजारदेखि १८० अर्ब डलरसम्म

एउटा सानो २१ हजार रुपैयाँबाट सुरु भएको टाटाको यात्रा आज भारतको औद्योगिक इतिहाससँगै विश्वव्यापी व्यापारको एउटा शक्तिशाली उदाहरण बनेको छ। आज १८० अर्ब डलरभन्दा बढी वार्षिक संयुक्त आम्दानी, ३१ कम्पनी, सयभन्दा बढी देश र १० लाखभन्दा बढी कर्मचारी। तर यो केवल आकारको विस्तार होइन। यो १५८ वर्षको औद्योगिक रूपान्तरण हो। २९ वर्षको उमेरमा व्यापार सुरु गरेका जमशेदजी टाटाको लक्ष्य केवल व्यवसाय विस्तार गर्नु थिएन। उनी भारतलाई औद्योगिक रूपमा आत्मनिर्भर बनाउने आधार तयार गर्न चाहन्थे।

उनपछि दोराबजी टाटाले औद्योगिक परियोजनालाई विस्तार दिए। जे. आर. डी. टाटाले समूहलाई नयाँ क्षेत्र र विश्व बजारतर्फ लगे। रतन टाटाको नेतृत्वमा टाटाले टेट्ली, कोरस, जगुआर ल्यान्ड रोभरलगायतका ठूला अन्तर्राष्ट्रिय अधिग्रहणमार्फत विश्वव्यापी उपस्थिति विस्तार गर्‍यो। आज टाटाको नयाँ पुस्ताले विद्युतीय सवारी, डिजिटल प्रविधि, सेमिकन्डक्टर, नवीकरणीय ऊर्जा र अन्य उच्च प्रविधिका क्षेत्रमा लगानी बढाइरहेको छ।

विश्वासको व्यावसायिक सफलता

सन् १८६८ मा जमशेदजी टाटाले मुम्बईमा २१ हजार भारतीय रुपैयाँको पुँजीबाट व्यापार सुरु गर्दा टाटाको भविष्य आजको जस्तो विशाल औद्योगिक समूह हुनेछ भन्ने अनुमान गर्न कठिन थियो। तर विस्तारको उनको तरिका सुरुदेखि नै स्पष्ट थियो-एउटा व्यवसायमा सीमित नहुने, भारतलाई आवश्यक पर्ने नयाँ उद्योगमा प्रवेश गर्ने र दीर्घकालीन सम्भावना देखिएका क्षेत्रमा समयभन्दा अगाडि लगानी गर्ने।

यही सोचले व्यापारिक कम्पनीलाई क्रमशः उद्योग, ऊर्जा, आतिथ्य, उड्डयन, मोटर, प्रविधि र अन्ततः विश्वव्यापी उपभोक्ता तथा डिजिटल व्यवसायसम्म फैलाउँदै लग्यो।

सन् १९०३ मा ताज महल प्यालेस होटल सञ्चालनमा आएपछि टाटा आतिथ्य क्षेत्रमा प्रवेश गर्यो। त्यसको चार वर्षपछि, १९०७ मा टाटा आइरन एन्ड स्टिल कम्पनी स्थापना भयो र जमशेदपुरमा भारतको पहिलो एकीकृत इस्पात कारखाना निर्माण भयो।

यसले टाटाको विस्तारलाई व्यापारबाट आधारभूत औद्योगिक उत्पादनतर्फ मोड्यो। त्यसपछि १९१० मा टाटा पावर स्थापना भयो, जसले जलविद्युत्मार्फत मुम्बईका घर र उद्योगलाई विद्युत् उपलब्ध गराउने अभियान अघि बढायो। यस चरणसम्म आइपुग्दा टाटा एउटा व्यापारिक संस्था मात्र रहेन; भारतको औद्योगिक पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न समूह बनिसकेको थियो।

विस्तारको अर्को चरण यातायात र उड्डयनमा आयो। सन् १९३२ मा जे. आर. डी. टाटाको नेतृत्वमा टाटा एयरलाइन्स सुरु भयो, जुन पछि एयर इन्डिया बन्यो। त्यसपछि १९४५ मा टाटा इन्जिनियरिङ एन्ड लोकोमोटिभ कम्पनी स्थापना भयो, जसले सुरुमा इन्जिन तथा रेलसम्बन्धी उपकरण उत्पादन गर्यो र पछि टाटा मोटर्सका रूपमा मोटर उद्योगमा विस्तार भयो।

यसरी टाटाले उद्योगको एउटा क्षेत्रबाट अर्को क्षेत्रमा प्रवेश मात्र गरेन; उसले भारतको बढ्दो औद्योगिक र यातायात आवश्यकतालाई आफ्नो विस्तारको आधार बनायो।

त्यसपछि टाटाले आफ्नो नजर अझ अगाडि लग्यो। सन् १९६८ मा टाटा कन्सल्टेन्सी सर्भिसेस स्थापना भयो। भारतमा सूचना प्रविधिको विश्वव्यापी सम्भावना स्पष्ट भइसकेको थिएन, तर टाटाले कम्प्युटिङ र प्रविधिलाई भविष्यको उद्योगका रूपमा पहिचान गर्यो। यही प्रारम्भिक दाउ पछि टाटा समूहको सबैभन्दा शक्तिशाली विश्वव्यापी व्यवसायमध्ये एकमा परिणत भयो। यसै अवधिमा टाटाले रसायन, उपभोक्ता सामग्री, आतिथ्य र अन्य क्षेत्रमा पनि आफ्नो व्यवसायिक आधार विस्तार गर्दै गयो।

सन् १९९१ मा रतन टाटा टाटा सन्सको अध्यक्ष बनेपछि विस्तारको शैली नै बदलियो। भारतमा आर्थिक उदारीकरण सुरु भएको यही समयमा उनले लामो समयदेखि विभिन्न दिशामा फैलिएका टाटा व्यवसायलाई पुनर्गठन गर्दै समूहलाई एउटै रणनीतिक दिशामा अघि बढाए। घरेलु बजारमा मात्र विस्तार गर्नेभन्दा विश्व बजारमा स्थापित कम्पनी र ब्रान्ड खरिद गर्ने रणनीति त्यसपछि टाटाको वृद्धिको महत्वपूर्ण आधार बन्यो।

त्यसको पहिलो ठूलो संकेत सन् १९९८ मा टाटा इन्डिकाममार्फत देखियो। भारतमै विकास गरिएको यात्रुवाहक कारले टाटा मोटर्सलाई व्यावसायिक सवारीबाट यात्रुवाहक कार बजारमा बलियो रूपमा प्रवेश गरायो। तर टाटाको अन्तर्राष्ट्रिय महत्वाकांक्षा अझ ठूलो थियो।

सन् २००० मा टाटा टीले बेलायतको टेट्ली करिब २७ करोड १० लाख युरोमा खरिद गर्यो। एउटा भारतीय कम्पनीले स्थापित बेलायती ब्रान्ड खरिद गरेको यो सम्झौता व्यापारिक अधिग्रहण मात्र थिएन; यसले टाटा अब भारतभित्रको समूह मात्र नरहेको स्पष्ट संकेत दियो।

विश्वव्यापी विस्तार त्यसपछि झन् तीव्र भयो। सन् २००४ मा टाटा मोटर्सले दक्षिण कोरियाको डेवू कमर्सियल भेहिकल कम्पनी खरिद गर्यो।

यसले टाटाको व्यावसायिक सवारी व्यवसायलाई एसियाली बजारमा विस्तार गर्न सहयोग पुर्यायो। त्यसपछि २००७ मा टाटा स्टिलले बेलायत–नेदरल्यान्ड्समा आधारित कोरस समूह करिब १२ अर्ब अमेरिकी डलरमा अधिग्रहण गर्‍यो।

यो टाटाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय औद्योगिक अधिग्रहणमध्ये एक थियो र यसले भारतीय कम्पनीको विश्वव्यापी औद्योगिक हैसियतलाई नयाँ स्तरमा पुर्यायो।

तर टाटाको विश्वव्यापी विस्तारको सबैभन्दा चर्चित अध्याय सन् २००८ मा जगुआर र ल्यान्ड रोभर खरिदसँग जोडियो। टाटा मोटर्सले फोर्डबाट यी दुई प्रतिष्ठित बेलायती विलासी मोटर ब्रान्ड करिब २.३–२.५ अर्ब अमेरिकी डलरमा खरिद गर्यो। विडम्बना के थियो भने केही वर्षअघि फोर्डले टाटाको यात्रुवाहक कार व्यवसायमाथि प्रश्न उठाएको थियो।

पछि परिस्थितिले उल्टो मोड लियो—टाटाले फोर्डकै प्रतिष्ठित ब्रान्ड आफ्नो स्वामित्वमा ल्यायो। महत्वपूर्ण कुरा, टाटाले जगुआर र ल्यान्ड रोभरलाई आफ्नो पहिचान मेटाएर भारतीय ब्रान्ड बनाउने प्रयास गरेन; उनीहरूको डिजाइन, प्रविधि र ब्रान्ड पहिचानलाई कायम राख्दै लगानी र व्यवस्थापनमार्फत पुनर्जीवन दिने बाटो रोज्यो।

त्यही सन् २००८-०९ मा टाटा नानो अर्को महत्वाकांक्षी प्रयोगका रूपमा आयो। सामान्य भारतीय परिवारलाई सस्तो चारपांग्रे सवारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको नानोलाई विश्वकै सबैभन्दा सस्तो कारका रूपमा प्रस्तुत गरिएको थियो। तर बजारमा अपेक्षित व्यावसायिक सफलता हासिल गर्न सकेन।

नानोको असफलता टाटाको विस्तार कथाको महत्वपूर्ण पक्ष हो—किनकि समूहको यात्रा केवल सफल अधिग्रहण र सफल उत्पादनको सूची होइन। केही प्रयोग असफल भए, तर नयाँ बजार र नयाँ सम्भावना खोज्ने प्रवृत्ति रोकिएन।

सन् २०१२ मा रतन टाटा अध्यक्ष पदबाट हटेपछि टाटा समूह नयाँ नेतृत्वतर्फ अघि बढ्यो। २०१७ मा एन. चन्द्रशेखरन टाटा सन्सको अध्यक्ष बनेपछि समूहको विस्तारमा डिजिटल प्रविधि, विद्युतीय सवारी, नयाँ ऊर्जा र उपभोक्ता बजारलाई थप प्राथमिकता दिइयो। टाटा मोटर्स विद्युतीय सवारीमा अघि बढ्यो भने टाटा पावरले नवीकरणीय ऊर्जामा आफ्नो उपस्थिति विस्तार गर्न थाल्यो।

डिजिटल अर्थतन्त्रतर्फको अर्को ठूलो मोड सन् २०२१ मा आयो, जब टाटा डिजिटलले बिगबास्केटमा बहुमत हिस्सेदारी र १एमजीमा बहुमत हिस्सेदारी लिएर क्रमशः अनलाइन किराना र डिजिटल स्वास्थ्य सेवामा प्रवेश बलियो बनायो। यसले टाटाको विस्तार परम्परागत उद्योगबाट डिजिटल उपभोक्ता अर्थतन्त्रतर्फ सरेको देखायो।

तर टाटाको सबैभन्दा प्रतीकात्मक घरफिर्ती सन् २०२२ मा एयर इन्डियाको पुनः अधिग्रहण थियो। सन् १९३२ मा टाटाबाट सुरु भएको विमान सेवा सन् १९५३ मा राष्ट्रियकरण भएको थियो। झन्डै सात दशकपछि टाटा समूहले भारत सरकारबाट एयर इन्डिया पुनः आफ्नो स्वामित्वमा ल्यायो।

यससँगै टाटाको उड्डयन व्यवसायले केवल पुरानो सम्पत्ति फिर्ता पाएन; एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, होटल, डिजिटल सेवा र उपभोक्ता व्यवसायलाई एउटै व्यापक व्यापारिक पारिस्थितिकीतर्फ जोड्ने नयाँ अवसर पनि प्राप्त भयो।

सन् २०२४ मा टाटा कन्ज्युमर प्रोडक्ट्सले क्यापिटल फुड्समा ७५ प्रतिशत हिस्सेदारी खरिद गर्दै चिङ्स सेक्रेट र स्मिथ एन्ड जोन्सजस्ता लोकप्रिय उपभोक्ता ब्रान्डमा आफ्नो पकड विस्तार गर्यो। यसले टाटाको विस्तार अब केवल भारी उद्योग, प्रविधि वा मोटरमा सीमित नभई दैनिक उपभोगका वस्तुसम्म गहिरिँदै गएको देखायो।

त्यही वर्ष रतन टाटाको ८६ वर्षको उमेरमा निधन भयो। तर उनको नेतृत्वमा भएको विस्तारको प्रभाव कम्पनीको आकारभन्दा पर पुग्यो। उनले टाटालाई भारतीय बजारमा ठूलो कम्पनी बनाउनेभन्दा भारतीय कम्पनीले विश्वका स्थापित ब्रान्ड खरिद गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरणका रूपमा स्थापित गरे।

आज टाटा समूहको विस्तारको नक्सा हेर्दा यसको यात्रा अझ स्पष्ट देखिन्छ—१८६८ को व्यापारबाट १९०३ को आतिथ्य, १९०७ को इस्पात, १९१० को ऊर्जा, १९३२ को उड्डयन, १९४५ को मोटर उद्योग, १९६८ को प्रविधि, २००० को विश्वव्यापी अधिग्रहण, २००७ को इस्पात विस्तार, २००८ को जगुआर–ल्यान्ड रोभर, २०२१ को डिजिटल बजार र २०२२ को एयर इन्डियाको घरफिर्तीसम्म।

आर्थिक वर्ष २०२४–२५ मा टाटा समूहका कम्पनीहरूको संयुक्त आम्दानी १८० अर्ब अमेरिकी डलरभन्दा बढी, विश्वभर १० लाखभन्दा बढी कर्मचारी र २६ सार्वजनिक सूचीबद्ध कम्पनीको संयुक्त बजार पुँजीकरण ३२८ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्नु यही दीर्घ विस्तारको परिणाम हो।

टाटाको विस्तारको कथा त्यसैले केवल धेरै कम्पनी जोडिएको कथा होइन। यो समयसँगै आफ्नो व्यवसायको केन्द्र बदल्दै गएको कथा हो—व्यापारबाट उद्योग, उद्योगबाट प्रविधि, प्रविधिबाट विश्वव्यापी ब्रान्ड र अन्ततः डिजिटल तथा नयाँ ऊर्जासम्म। यही निरन्तर रूपान्तरणले टाटालाई डेढ शताब्दीपछि पनि एउटै व्यवसायमा अडिएको कम्पनी होइन, समय बदलिँदा आफूलाई बदल्न सक्ने औद्योगिक समूह बनाएको छ।

टाटाको पाठबाट नयाँ व्यवसायले के सिक्ने?

टाटाको १५८ वर्षे यात्रा पढेपछि अन्ततः एउटा प्रश्न बाँकी रहन्छ—यति धेरै कम्पनी आए, गए; तर टाटा किन टिकिरह्यो? उत्तर उसको आकारमा छैन। उसको सोचमा छ।

टाटाले कम्पनीहरू मात्र बनाएन-संस्थाहरू बनाए। सामान मात्र बेचेन-विश्वास निर्माण गर्‍यो। नाफा मात्र खोजेन-उद्देश्यलाई व्यवसायको केन्द्रमा राख्यो। र बजारको आज मात्र हेरेन-भोलिको भारत र विश्व हे-यो। यही सोचले एउटा व्यापारिक प्रतिष्ठानलाई पुस्तौँ पार गर्दै अघि बढायो।

जमशेदजी टाटाको औद्योगिक भारतको सपना, त्यसपछिका पुस्ताको संस्थागत निर्माण, जे. आर. डी. टाटाको विस्तार र रतन टाटाको विश्वव्यापी महत्वाकांक्षाले एउटै यात्रालाई फरक–फरक युगमा अघि बढाए। सन् १८६८ मा २१ हजार रुपैयाँबाट सुरु भएको व्यवसाय आज सयभन्दा बढी देशमा फैलिएको छ। तर टाटाको वास्तविक सफलता यसको बिक्री, कारखाना वा अधिग्रहणको सूचीमा भेटिँदैन।

त्यो भेटिन्छ एउटा सरल प्रश्नको उत्तरमा- व्यवसाय ठूलो हुनुको अर्थ के हो? टाटाले यसको उत्तर व्यवहारबाट दियो—पैसा कमाउनु व्यवसायको सफलता हुन सक्छ; तर समाजको भविष्य बदल्न सक्नु महान् व्यवसायको पहिचान हो।

त्यसैले टाटा केवल भारतको एउटा व्यापारिक समूह रहेन।

यो एउटा विचार बन्यो।

व्यापारबाट उद्योग।

उद्योगबाट राष्ट्रनिर्माण।

राष्ट्रनिर्माणबाट विश्वव्यापी शक्ति।

२१ हजार रुपैयाँबाट सुरु भएको कथा आज पनि अघि बढिरहेको छ। किनकि टाटाको सबैभन्दा ठूलो सम्पत्ति उसका कम्पनीहरू होइनन्-उसले पुस्तौँदेखि निर्माण गर्दै आएको विश्वास हो।

टाटाको सफलता कुनै एउटा उत्पादन, बजार वा व्यक्तिको सफलताको परिणाम होइन। यो समयभन्दा अगाडि सोच्ने र समयसँगै आफूलाई बदलिरहने क्षमताको परिणाम हो। सन् १८६८ मा व्यापारबाट सुरु भएको समूहले भारतको औद्योगिक आवश्यकता पहिचान गर्दै इस्पात, ऊर्जा, होटल र उड्डयनमा प्रवेश गर्‍यो।

पछि सूचना प्रविधि, अटोमोबाइल र विश्वव्यापी उपभोक्ता बजारमा पुग्यो। आज विद्युतीय सवारी, ब्याट्री, इलेक्ट्रोनिक्स र उच्च प्रविधि यसको नयाँ मोर्चा बनेका छन्।

टाटाको अर्को ठूलो पाठ नयाँ व्यवसाय सधैँ शून्यबाट सुरु गर्नुपर्दैन भन्ने हो। आफ्नै प्रविधि, पूँजी, ब्रान्ड र व्यवस्थापन क्षमतालाई नयाँ बजारसँग जोडेर पनि नयाँ व्यवसाय निर्माण गर्न सकिन्छ। टीसीएस यसको उदाहरण हो-भारतको सूचना प्रविधि उद्योग आकार लिनुअघि नै सुरु गरिएको कम्पनी आज विश्वकै ठूला प्रविधि सेवा कम्पनीमध्ये एक बनेको छ।

विश्वव्यापी विस्तारमा टाटाले अर्को रणनीति देखायो। टेट्ली, कोरस र जगुआर ल्यान्ड रोभरजस्ता अधिग्रहण केवल कम्पनी किन्ने निर्णय थिएनन्; नयाँ बजार, ब्रान्ड, प्रविधि र विश्वव्यापी क्षमता प्राप्त गर्ने माध्यम थिए। तर हरेक प्रयोग सफल भएन। नानोको असफलताले देखायो-ठूलो विचारलाई बजारले स्वीकार गर्नैपर्छ भन्ने हुँदैन।

महत्वपूर्ण कुरा असफलताबाट सिकेर अगाडि बढ्नु हो। अन्ततः टाटाको सबैभन्दा ठूलो पाठ दीर्घकालीन सोच, संस्थागत विश्वास र निरन्तर पुनःआविष्कार हो। व्यवसायले आजको बजार जित्न सक्छ; महान् व्यवसायले भने भोलिको बजार निर्माण गर्छ।

2