Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँझिँदै गएको खेतबारीमा व्यावसायिक ओखर खेती

परम्परागत खेतीबाट घट्दो आम्दानीबीच शारदा नगरपालिकाले ओखर खेती विस्तार गर्दै बाँझो जमिनलाई दीर्घकालीन आम्दानी र रोजगारीको आधार बनाउने योजना अघि सारेको छ ।

बाँझिँदै गएको खेतबारीमा व्यावसायिक ओखर खेती
अ+ अ-

सल्यान। परम्परागत खेतीबाट लागतअनुसार आम्दानी लिन कठिन हुँदै जाँदा सल्यानमा किसानले बाँझिँदै गएका खेतबारीलाई उच्च मूल्यको ओखर खेतीमा रूपान्तरण गर्न थालेका छन् ।

शारदा नगरपालिकाले ओखरलाई व्यावसायिक बालीका रूपमा विस्तार गर्दै स्थानीय किसानको आम्दानी र नगरको कृषि अर्थतन्त्र बलियो बनाउने योजना अघि सारेको हो ।

नगरपालिकाले गत वर्ष १४० रोपनीबाट सुरु गरेको ओखर खेती विस्तार कार्यक्रमलाई यस वर्ष करिब एक हजार रोपनीमा पुर्‍याउने लक्ष्य राखेको छ ।

नगरप्रमुख प्रकाश भण्डारीका अनुसार उच्च मूल्य र दीर्घकालीन आम्दानीको सम्भावना रहेको ओखर खेतीलाई व्यवस्थित रूपमा विस्तार गरी किसानको आय बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र नगरपालिकाभित्रै नयाँ कृषि व्यवसायको आधार तयार गर्ने लक्ष्य छ ।

“स्थानीय हावापानी र किसानको अनुभवलाई आधार बनाएर ओखरलाई व्यावसायिक तथा नगदे बालीका रूपमा विकास गर्न खोजेका हौँ,” भण्डारीले भन्नुभयो ।

सामूहिक खेतीदेखि व्यावसायिक विस्तारसम्म

शारदा नगरपालिका–१० मदानामा अगुवा कृषक टुल्कबहादुर कँवरसहित पाँच किसानले ६० रोपनी जमिनमा सामूहिक रूपमा ओखर खेती सुरु गरेका छन् ।

त्यस्तै वडा नं. ९ को खोलीखोला, वडा नं. ४ को सुनटाकुरा, वडा नं. ५ को रानीकोट र वडा नं. ३ को सिरुवारमा २०–२० रोपनीका दरले ओखर खेती सुरु गरिएको छ ।

नगरपालिकाका कृषि विकास शाखा प्रमुख कविराज ज्ञवालीका अनुसार यी क्षेत्रसहित गत वर्ष १४० रोपनीमा ओखर खेती विस्तार कार्यक्रम सुरु गरिएको थियो ।

तर नगरपालिकाभर ओखर खेतीको कुल क्षेत्रफल भने यसभन्दा ठूलो छ । गत वर्ष नगरपालिकामा एक हजार ३७० रोपनीमा ओखर खेती भएको र करिब ६० हजार ५२० किलो उत्पादन भएको ज्ञवालीले बताउनुभयो ।

“यस वर्ष सम्भावित अन्य वडामा समेत खेती विस्तार गरेर एक हजार रोपनीमा कार्यक्रम अघि बढाउने तयारी छ,” उहाँले भन्नुभयो, “धेरै बोट अहिले सानै भएकाले उत्पादन तत्काल ठूलो देखिँदैन ।”

पहाडमा नयाँ नगदे बालीको खोजी

शारदा नगरपालिका ओखर उत्पादनका लागि अनुकूल हावापानी भएको क्षेत्र मानिन्छ । केही किसानले परम्परागत रूपमा लगाएका ओखरका रूखबाटै अहिले पनि राम्रो आम्दानी गर्दै आएका छन् ।

यही स्थानीय अनुभव र भौगोलिक सम्भावनालाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न नगरपालिका ओखर खेती विस्तारमा केन्द्रित भएको हो ।

नगरपालिकासँग पहाडी क्षेत्र काष्ठ फलफूल विकास आयोजनाले समेत सहकार्य गरिरहेको छ । आयोजनामार्फत प्राविधिक जनशक्ति परिचालनसँगै किसानलाई विभिन्न प्रकारका अनुदान तथा सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

बाँझो जमिनलाई आम्दानीको स्रोत

पहाडी क्षेत्रमा धान, मकै र गहुँजस्ता परम्परागत बालीको उत्पादन लागत बढ्दै गएको छ । उत्पादनमा लाग्ने श्रम र लागतको तुलनामा आम्दानी कम हुँदा किसानको आकर्षण घटिरहेको छ ।

त्यसमाथि रोजगारीका लागि युवाहरू गाउँबाट बाहिरिने क्रम बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएको छ ।

यही समस्याको विकल्पका रूपमा नगरपालिकाले कम श्रममा लामो समयसम्म उत्पादन लिन सकिने फलफूल तथा उच्च मूल्यका नगदे बालीलाई प्राथमिकता दिन थालेको हो ।

ओखरको उत्पादन सुरु हुन केही वर्ष लाग्ने भए पनि एकपटक बोटले उत्पादन दिन थालेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यसलाई किसानका लागि दीर्घकालीन कृषि लगानीका रूपमा हेरिएको छ ।

नगरपालिकाको रणनीति उत्पादन बढाउनेमा मात्र सीमित छैन । बाँझो जमिनलाई उत्पादनमा फर्काउने, किसानको दीर्घकालीन आम्दानी बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र सल्यानको कृषि उत्पादनलाई नयाँ व्यावसायिक पहिचान दिने लक्ष्यसहित ओखर खेती विस्तार भइरहेको छ ।

यदि यो अभियान योजनाअनुसार विस्तार भयो भने परम्परागत खेतीबाट पलायन हुँदै गएको पहाडी कृषि अर्थतन्त्रमा ओखर नयाँ आम्दानीको आधार बन्न सक्ने स्थानीय तहको अपेक्षा छ ।

2