काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारलाई प्रभावकारी बनाउन सरकारसँग नौबुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्दै आङ्देम्बेले नौबुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्। बिहान ११ बजेदेखि साढे ११ बजेसम्म भएको भेटमा उनले बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमनबाट फर्किएपछि उद्धार तथा राहतको अवस्था प्रधानमन्त्रीसमक्ष राखेका थिए।
आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर हवाई उद्धारलाई थप प्रभावकारी बनाउन माग गरेका छन्। नेपाली सेनाले गरिरहेको उद्धार प्रयासको प्रशंसा गर्दै उनले उद्धार अभियानलाई अझ तीव्र बनाउनुपर्ने बताएका छन्।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक तत्काल खुलाउन तथा क्षतिग्रस्त पुलमध्ये कम्तीमा सात स्थानमा तत्काल बेलीब्रिज जडान गर्न माग गरिएको छ। अवरुद्ध विद्युत् र सञ्चार सेवा पनि शीघ्र सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन्।
बाढीले बगाएर ल्याएका शव तथा बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्नुपर्ने आङ्देम्बेको माग छ। उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउन यातायातको व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन्।
घाइतेको उपचारका लागि नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा आवश्यक अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने उनले बताएका छन्।
उद्धार तथा राहतमा स्थानीय तहसँग संघीय सरकारको समन्वय बढाउन र राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई आवश्यक सहजीकरण गर्न पनि माग गरिएको छ।
सुरुङ, भग्नावशेष वा अन्य जोखिमपूर्ण स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार टोली तथा विशेषज्ञको सहयोग लिनुपर्ने आङ्देम्बेको सुझाव छ।
त्यसैगरी, त्रिशूलीलगायत नदी क्षेत्रमा आवागमन प्रभावित भएकाले नागरिकको आवतजावत सहज बनाउन आवश्यक स्थानमा तुइनको शीघ्र व्यवस्था गर्न उनले माग गरेका छन्।
