काठमाडौं- विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी ग्लोबल होल्डिङ्सअन्तर्गतका कम्पनी र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बीएलसी परिवारले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट प्रभावित भएको भन्दै संस्थाले राहतसँगै सुरक्षित आवास र पुनःस्थापनाको आवश्यकता औँल्याएको छ।
संस्थाका अनुसार सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी घोषणा गरिएको ३ करोड रुपैयाँ वास्तविक पीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिनेछ।
बीएलसीले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा सामाजिक संघसंस्थाप्रति सम्मान व्यक्त गर्दै विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
बीएलसी ग्लोबल होल्डिङ्स तथा बसन्त चौधरी फाउण्डेसनका संस्थापक बसन्त चौधरीले विपत्तिबाट प्रभावित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएका छन्।
