काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि चीनले पठाएको करिब ५० टन राहत सामग्री आइतबार बिहान काठमाडौं आइपुगेको छ।
सामग्री लिएर चिनियाँ वायुसेनाका दुईवटा वाई–२० सैन्य कार्गो विमान बिहान ७:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चीनको छङ्तुस्थित सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका विमान करिब तीन घण्टापछि काठमाडौं आइपुगेका थिए।
चीनले बाढीपीडितका लागि त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान राहत सामग्री पठाएको हो।
काठमाडौं आइपुगेको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
