काठमाडौं – सरकारले बजेट मार्फत विद्युतीय सवारी साधन (ईभी)मा लगाएको कर यथावत राखेसँगै एकपछि अर्को ईभी नेपाल आउने लाइनमा देखिएका छन् । केही ब्राण्डले नेपाल ल्याएर परीक्षण सुरू गरेको मोडल नै आधा दर्जन हाराहारी छन् ।
बजेट अगाडि नै टेस्ट भेहिकल ल्याएर परीक्षण गरिरहेका बीवाइडी, डोङफेङ फरथिङ, आइएम–६, महिन्द्रा र एमजीका गाडी अब छिट्टै बिक्री सुरू हुनेछन् ।
अहिले बजारमा परीक्षण चलिरहेका विद्युतीय मोडल मूल्यका हिसाबले ४० लाखदेखि १ करोड रुपैयाँ माथिसम्म पर्ने अनुमान गर्न सकिन्छ । आधिकारिक बिक्रेताहरूको अनुसार अहिले परीक्षण चलिरहेका मोडलहरू असार र साउनबाट आधिकारिक बिक्री हुनेछन् ।
सबैभन्दा पहिला एमजी विन्डर ह्याचब्याक मोडलको बिक्री सुरू हुनेछ । बीवाइडी डल्फिनको मुख्य प्रतिस्पर्धी मानिने विन्डसर केही युनिट आइसकेको छ । त्यसैले पनि यो सबैभन्दा पहिला बिक्री सुरू हुने मोडल हो । सम्भवतः जेठ अन्तिम वा असार पहिलो साताबाट यसको बिक्री सुरू हुनेछ ।
भारतमा उत्पादन भएको विन्सर ईभीको मूल्य ४० लाख रुपैयाँ आसपास रहने छ । यसमा ३८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
बीवाइडीले सिलायन-०७ ईभी पनि छिट्टै बिक्री सुरू गर्नेछ । आधिकारिक बिक्रेता साइमेक्स इंकले १ युनिट सिलायन-०७ नेपाल ल्याएर परीक्षण गरिरहेको छ । क्रसओभर एसयूभी सेग्मेन्टमा आउने सिलायन–०७ साइजका हिसाबले पनि ठूलो मोडल हो । कम्पनीले १०० किलोवाटको मोटरमा ल्याउन लागेका कारण यसको मूल्य ७५ लाख रुपैयाँ आसपास नै हुने अनुमान गर्न सकिन्छ ।
कम्प्याक्ट मिडसाइज सेग्मेन्टमा लक्ष्मी ई मोबिलिटीले नेपाल ल्याएको डोङफेङको सहायक ब्राण्ड फरथिङको फ्राइडे नामक एसयूभी २ युनिट ल्याएर परीक्षण भइरहेको छ । यसमा ९९ किलोवाटको मोटर र ६४.४ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको टप भेरियन्ट ६२ लाख आसपास मूल्य राखेर बिक्री गर्ने योजना कम्पनीले बनाएको छ ।
फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले चीनमा बिक्री गरिरहेको क्वीड ह्याचब्याकको ईभी भर्सन पनि नेपाल ल्याएर परीक्षण भइरहेको छ । एड्भान्स अटोमोबाइलले नेपाल ल्याएको क्वीड ईभी ‘स्मल ह्याचब्याक’ सेग्मेन्ट कै कम मूल्यको कार हुन सक्नेछ । क्वीड ईभीमा २६.८ किलोवाट अवारको ब्याट्री प्याक र ४४ किलोवाटको मोटर छ ।
महिन्द्राले एक साथ दुई एसयूभी नेपाली बजारमा बिक्री सुरू गर्दैछ । अग्नी इनकर्पोरेट प्रालिले बीई–६ र एक्सईभी–९ ई मोडल नेपालमा बिक्री सुरू गर्न लागेको हो । अहिले दुवै मोडल परीक्षण भइरहेको छ । दुवैमा समान ५९ किलोवाट आवर र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । यी दुई मोडलको मूल्य ७५ लाखदेखि १ करोड रुपैयाँ माथि पर्नेछ ।
चिनियाँ अटोमोबाइल ग्रुप एसएआईसीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड आइएम मोटर्सको आईएम ६ नेपाल आइसकेको छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको आईएम–६मा २१७ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिइएको छ । ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको कारको मूल्य १ करोड रुपैयाँ माथि पर्ने अनुमान गरिएको छ ।