काठमाडौँ। हिमाली मुलुक नेपालमा १०० भन्दा बढी हिमताल फुट्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्। बढ्दो तापक्रमसँगै हिमनदी पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएकाले जोखिम न्यूनीकरणका लागि नीति, योजना र पूर्वतयारी आवश्यक रहेको उनीहरूको भनाइ छ।
हिमतालको जलसतह घटाउने, जोखिमको निरन्तर निगरानी गर्ने र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सके सम्भावित क्षति कम गर्न सकिने विज्ञहरूले बताएका छन्।
चाइनिज एकेडेमी अफ साइन्सेसबाट हिमतालसम्बन्धी विद्यावारिधि गरेका वैज्ञानिक डा. नितेश खड्काका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिमयुक्त हिमताल नेपाल र तिब्बतमा छन्। सन् २०२० तिर गरिएको अध्ययनपछि जोखिमको अवस्थाबारे पर्याप्त नयाँ अध्ययन हुन नसकेको उनले बताए।
यसअघिको अध्ययनले नेपालका २१ हिमताललाई उच्च जोखिममा राखेको भए पनि पछिल्लो अवस्थाअनुसार जोखिमयुक्त हिमतालको संख्या १०० भन्दा बढी हुन सक्ने डा. खड्काको भनाइ छ। नेपालमा दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्यांक सार्वजनिक भइसकेको भन्दै उनले हरेक हिमतालको जोखिम समान नहुने बताए।
“हिमपहिरोले बगाएर ल्याएको माटो, ढुङ्गा र गेग्रानमा बनेका ताल दीर्घकालीन रूपमा स्थिर नहुन सक्छन्। त्यसैले २१ वटा हिमताल मात्र फुट्ने जोखिममा छन् भन्नु पछिल्लो अवस्थामा पर्याप्त हुँदैन,” उनले भने।
हिमताल अध्येता डा. अरुणभक्त श्रेष्ठले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकास र विस्तार आवश्यक रहेको बताए। उनका अनुसार इम्जा र च्छोरोल्पा हिमतालको जोखिम न्यूनीकरण गरिएझैँ अन्य जोखिमयुक्त तालमा पनि तत्काल काम अघि बढाउनुपर्छ।
सन् २०२० को अध्ययनले नेपाल, तिब्बत र भारतमा गरी ४७ हिमताललाई उच्च जोखिमको सूचीमा राखेको थियो। डा. खड्काका अनुसार नेपालमा जोखिमयुक्त हिमतालमध्ये अधिकांश कोशी जलाधार क्षेत्रमा छन्, विशेषगरी दूधकोशी क्षेत्रमा जोखिम बढी छ।
अध्ययनले तिब्बतमा २५ र भारतमा एउटा हिमताललाई उच्च जोखिममा रहेको देखाएको थियो। नेपालका अधिकांश ठूला हिमनदीका मुहान तिब्बतमा रहेकाले त्यहाँका हिमताल फुट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली नदी प्रणालीमा पर्न सक्ने डा. खड्काले बताए।
अरुण, दूधकोशी, तामाकोशी, भोटेकोशी, बूढीगण्डकी, मर्स्याङ्दी र हुम्ला कर्णालीलगायत नदीको जलाधार तिब्बती क्षेत्रसँग जोडिएकाले तिब्बतमा हुने हिमताल विस्फोटबाट नेपालमा ठूलो बाढी आउन सक्ने उनको भनाइ छ।
प्राडा रिजेन्द्रभक्त कायस्थले पनि हिमतालको जोखिमलाई अत्यन्त गम्भीर रूपमा लिनुपर्ने बताए। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने र हिमताल बन्ने क्रम बढिरहेकाले जोखिम न्यूनीकरणमा तत्काल दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ।
