काठमाडौँ। रसुवा बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको औपचारिक आह्वानअघि नै करिब ५० अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग प्रतिबद्धता आएको छ।
अर्थ मन्त्रालयका अनुसार दातृ निकाय र विभिन्न मुलुकबाट ३४ अर्ब २५ करोड रुपैयाँ तथा स्वदेशी निजी क्षेत्र, सर्वसाधारण र विदेशमा रहेका नेपालीबाट करिब साढे ७ अर्ब रुपैयाँ बराबरको नगद सहयोग जुटेको छ।
विश्व बैंकले २५ अर्ब रुपैयाँको आपत्कालीन प्याकेज घोषणा गरेको छ। यूएईले १ अर्ब ५३ करोड, बेलायतले १ अर्ब ४ करोड, अमेरिका ५५ करोड, संयुक्त राष्ट्रसंघ ४९ करोड र एडिबीले ७६ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन्।
तर ठूलो सहयोग प्रतिबद्धताबीच पनि प्रभावित क्षेत्रमा उद्धार र राहत व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। कतिपय जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको र प्राविधिक उद्धारमा ढिलाइ भएको व्यवसायीहरूको गुनासो छ।
सरकारले अहिले नियमित बजेटबाट उद्धार तथा राहत सञ्चालन गरिरहेको छ। क्षति तथा आवश्यकताको विस्तृत मूल्याङ्कन (पीडीएनए) पछि पुनर्निर्माणका लागि औपचारिक रूपमा अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्ने तयारी छ।
