जुम्ला । रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि पाँच लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन्।
त्रिपुरासुन्दरी नगरपालिकाले दुई लाख रुपैंयाँ, छार्का ताङसोङ गाउँपालिकाले दुई लाख रुपैंयाँ र शे–फोक्सुण्डो गाउँपालिकाले एक लाख ५० हजार रुपैंयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए।
विपदमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ उक्त रकम सहयोग गरिएको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए।
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको छ।
